काठमाडौँ, मङ्सिर २४ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले हालै उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा गर्नुभएको नियुक्तिलाई अनुमोदन गरेको छ ।
सोमबार सभापति निवास, बुढानीलकण्ठमा बसेको बैठकले कोषाध्यक्षको अनुमोदनसँगै नेपाल तरुण दलको विधान, २०१० (संशोधन सहित) (सातौँ संशोधन २०८१/०६/०६) र नेपाल किसान महासङ्घको विधान, २००८ (संशोधन सहित) (सातौँ संशोधन २०८१) लाई परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्य पदमा प्राथमिकता क्रमसङ्ख्या ५ मा रहनुभएकी सुनिता थापालाई मनोनयन गर्ने निर्णय गरेको छ ।
२०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित हुनुभएकी विमला गौचनको २०८१ कार्त्तिक २८ गते निधन भएका कारण उक्त पद रिक्त रहेको थियो । यसैगरी बैठकले गौचनको निधनप्रति समवेदना प्रकट गर्दै श्रद्धाञ्जली अर्पण समेत गरेको छ ।