• ९ पुस २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित

blog

काठमाडौँ, मङ्सिर २४ गते । प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । 

नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकले विभिन्न स्वर्णमा आठ स्वर्ण, चार रजत र दुई काँस्य गरी १४ पदक जितेका थिए ।

गीतकारसमेत रहेका बुद्धवीर लामाले ६५ वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण, धर्म महर्जनले ५०–५५ वर्षको ४ सय, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण, ६५ वर्षमाथि पुष्पलाल श्रेष्ठले पाँच हजार मिटर दौडमा स्वर्ण र १० हजार मिटर दौडमा रजत, ५०–५५ वर्षमा कपिल भट्टले २ सय मिटर दौडमा रजत र पाँच हजार मिटर दौडमा काँस्य तथा ४५–५० वर्षमा महेन्द्र वज्राचार्यले १० हजार मिटर दौडमा काँस्य जित्नुभएको थियो । 

त्यस्तै ४०–४५ वर्षमा राकेश महर्जनले १ हजार ५ सय, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण तथा ४०–४५ वर्षमा दिनेश महर्जनले पाँच हजार र १० हजार मिटर दौडमा रजत पदक प्राप्त गर्नुभएको थियो । 

४५–५० वर्षको १० हजार मिटर दौडमा सहभागी भइ दौड पूरा गर्नुभएका लाक्पा शेर्पा लामा र जहरमान गुरुङलाई पनि सम्मान गरियो । सोही अवसरमा विश्व प्रहरी सङ्गठनबीच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण जितेका निमेश गुरुङ पनि सम्मानित हुनुभयो । 

खेलाडीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले एक कार्यक्रमबीच प्रशंसा पत्रसहित सम्मान गर्नुभयो ।

अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताको समापनका अवसरमा आयोजक मास्टर्स गेम एसोसिएसन, बंगाल र कुचविहार मास्टर्स एसोसिएसनले बुद्धवीरलाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्ड पनि प्रदान गरिएको प्रयास मञ्च नेपालले जनाएको छ ।