• ९ पुस २०८१, मङ्गलबार

पुल निर्माण गर्न प्रशासनलाई गुहार

blog

नवलपरासी समाचारदाता

कावासोती, मङ्सिर २४ गते । कालीगण्डकी कोरिडोरको गैँडाकोट–बुलिङटार जोड्ने तरङ्गाखोलामा पक्की पुल निर्माणको ठेक्का पाएको ठेकेदार चार वर्षदेखि पुल निर्माणको काम नगरी बेपत्ता भएको भन्दै स्थानीयले प्रशासन गुहारेका छन् । 

कालीगण्डकी कोरिडोरमा रहेका खोलाहरूमा सबै ठाउँमा पक्की पुल निर्माण सम्पन्न भइसक्दा पनि तरङ्गाखोलामा पुल बन्न चार वर्षअगाडि ठेक्का पाएको लोहनी ब्रदर्स चितवनका ठेकेदार अशोक लोहनीले काम बिचैमा अलपत्र पारेर फरार भएपछि यहाँका बासिन्दाले प्रशासन गुहारेका हुन् । 

पटक पटक प्रशासनको ध्यानाकर्षण गराए पनि प्रशासनले समेत बेवास्ता गर्न थालेको भन्दै स्थानीय बुलिङटारका युवाले वैकल्पिक यात्राका लागि कल्भर्टको समेत व्यवस्था गरी अस्थायी रूपमा यातायात आवतजावत गराउन सहयोग गरेका बुलिङटारका स्थानीय शिक्षक लोकप्रसाद रामदामले बताउनुभयो । 

पुलको जिम्मेवारी पाएको लोहनी ब्रदर्सले कामै पूरा नगरेको मात्र नभई स्थानीयको ठुलो मात्रामा सामानको रकम तिर्नसमेत बाँकी रहेको र पैसा तिर्नुको साटो स्थानीयलाई अनेक आरोप लगाएर पुल नै अलपत्र छाडेपछि स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएको बुलिङटार–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो । 

ठेकेदार कम्पनीले स्थानीयलाई चार वर्षदेखि खातामा पैसा नभएको चेक दिएको र पैसा माग्दा धम्क्याउने गरेको स्थानीय बताउँछन् । आफूसहित धेरै स्थानीयको लाखौँ रकम नबुझाएपछि निज ठेकेदारले खोलामा पुल बनाउन राखेको सामान स्थानीयले उठाएर राख्न बाध्य भएको उहाँले बताउनुभयो । काम गरेको पैसा पटक पटक माग्ने गर्दा पनि बेला बेला झालझेल गर्ने, फोन नउठाउने, सम्पर्कमा नआउने जस्ता धेरै दुःख दिन थालेपछि स्थानीयले सामान उठाउन बाध्य भएको र पैसा भुक्तानी दिनासाथ ठेकेदारको सामान जस्ताको तस्तै उठाएको ठाउँमा पु¥याइदिने वडाध्यक्ष मगरले बताउनुभयो । 

स्थानीय बुलिङटारका पृथ रानामगरले भन्नुभयो, “धेरै पटक हारगुहार गरियो, बर्सौंदेखिको सडक निर्माणको बक्यौता स्थानीय बुलिङटारका जनतालाई अहिलेसम्म पनि नदिनु र उल्टै सामान चोरेको आरोप लगाएर प्रहरीमा उजुरी हाल्नु आफूले गरेका गल्ती ढाकछोप गर्नु हो ।” 

ठेकेदारले साँधखोलाको पक्की पुल बनाउँदाको रकमसमेत स्थानीयले नपाएका, कुखुरादेखि खसीबोका किनेको रकम, सामान बोकेको रकमदेखि तरङ्गाखोलाको पुल बनाउन सामान बोकेको रकमसम्म झन्डै २० लाख रकम नपाएपछि स्थानीय आन्दोलित भएका र रकम लिन पटक पटक धाए पनि पुल नै नबनाई ठेकेदार सम्पर्कविहीन हुँदै आएको वडाध्यक्ष जर्घामगरले बताउनुभयो । 

तीन करोड ११ लाख रुपियाँको लागतमा निर्माण सुरु भएको सो पुलको चार वर्षमा दुवैतिर पिल्लर उठाउने काम भएको तर अरू धेरै काम हुन बाँकी छ । एक वर्षमै सक्ने पुलको म्याद थप्दै चार वर्ष बित्दा पनि सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेपछि घटना बाहिर आएको हो । 

अहिले कालीगण्डकी कोरिडोर व्यस्त सडकका रूपमा छ तर एउटा मात्र पुल बन्न नसक्दा यो सडकमा यात्रा गर्नेले धेरै सास्ती खेप्दै आइरहेका र प्रशासनले चाँडो सम्बन्धित ठेकेदारलाई बोलाएर काममा विलम्ब नगर्न निर्देशन दिएको छ । ठेकेदार कम्पनीले आगामी असार मसान्तभित्र काम सम्पन्न हुने र उठाइएको सामान फिर्ता ल्याएपछि काम सुचारु गर्ने जनाएको छ । ठेकेदार पक्षले सबैको बाँकी रकम बुझाउन तयार रहेको र कसैलाई दुःख दिने नियत नभएको जनाएको छ ।