तिलाचन पाण्डे
तम्घास, मङ्सिर २४ गते । उमेरले ८४ वर्ष पुग्नै लाग्नु भएका कालीगण्डकी ७ भुर्तुङका यमबहादुर गुरुङलाई गाउँ छाड्नै मन छैन । उहाँलाई शहरमा बस्न नपुगेर होइन्, उहाँका चार भाई छोरामध्ये एक जना भारत र तीन भाई बुटवललगायतका शहरमा हुनुहुन्छ ।
तर उहाँलाई शहरभन्दा गाउँ नै प्यारो लाग्ने गरेको बताउनुहुन्छ । शहरभन्दा गाउँकै स्वच्छ हावापानी राम्रो भएकाले यहि माटोमै मर्ने इच्छा आफूलाई भएको उहाँको भनाइ छ । छोराहरुले शहरमा आउन भने पनि आफूलाई गाउँ नै प्यारो लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।
आफू र ७७ वर्षीया श्रीमतीले भैंसी पनि पालेको उहाँले बताउनुभयो । गाउँकै ताजा तरकारी, दुध, दही शहरमा नपाइने र आफूले गर्न सकुन्जेल गाउँमै रमाउने गुरुङको भनाइ छ ।
यसका साथै आफू जन्मेकै माटोमा अन्तिमसम्म रहने उहाँको इच्छा छ । स्थानीय दाजु भाई गाउँमै छन्, मर्दा पनि यिनैले फाल्ने भन्दै गाउँ नै प्यारो लागेको उहाँले बताउनुभयो । गाउँकै माटोमा राम्रो आम्दामी गर्न सकिने भएकाले गाउँ नछाड्न उहाँले गाउँलेलाई सुझावसमेत दिने गर्नुभएको छ ।
यस्तै, अर्का स्थानीय ४५ वर्षीय जमुना गुरुङले पनि शहरभन्दा गाउँकै हावापानी स्वच्छ भएकाले गाउँ नै प्यारो लाग्ने गरेको बताउनुभयो । अहिले जताततै सडकको सुविधा भएकाले बिहान बुटवल गएर साँझ गाउँ नै फर्किन सक्ने भएकाले गाउँमा समस्या नभएको उहाँको भनाइ छ । शहरमा बढी कोलाहल हुने हुँदा शहरभन्दा गाउँकै हाापानीमा रम्न सके धेरै समय बाच्न सकिने त्यहाँका स्थानीयहरु बताउछन् ।
यसैगरी, अर्का स्थानीय युवा ३५ वर्षीय आशिष गुरुङले गाउँमै व्यावसायीक रुपमा कृषि र पशुपालन गर्दा आफैँले उत्पादन गरेको ताजा खाना पनि हुने र शहरभन्दा गाउँमै बस्न उत्तम हुने उहाँको तर्क छ । गाउँमै युवा र महिलाहरुलाई जोडेर सामूहिक चिया खेती र किवी खेती गरेकाले उत्पादनलाई जोड दिएको उहाँले बताउनुभयो । गाउँको उत्पादन सहज रुपमा स्थानीय बजारसहित बुटवललगायतका स्थानमा सहजै गाडीमार्फत पठाउन सकिने भएकाले गाउँनै उत्तम रहेको भनाइ छ । यसका साथै आफूहले गाउँलाई नै होम स्टेका रुपमा सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो ।
स्थानीय युवा राजु गुरुङले अहिलेका युवाहरुमाभन्दा जोस र जाँगर यमबहादुरमा भएको बताउनुभयो । सबैले गाउँ छाडेभन्दा उहाँले किन गाउँ छाड्ने, शहरमा भन्दा गाउँमै राम्रो छ भन्दै सम्झाउने गरेको बताउनुभयो ।
कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षको असार मसान्तसम्म गाउँपालिकाबाट एक सय ५६ परिवारका पाँच सय ४६ जना बसाईसराइँ गरी गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । पालिका भित्रका सात वटामध्ये सबैभन्दा बढी वडा नम्बर २ अर्वेनी र वडा नम्वर ६ खडगकोटबाट ३२ घरपरिवारले साईसराइँको प्रमाणपत्र लगेका छन् । वडा नम्बर १ बाट १९, २ बाट ३२, ३ बाट नौ, ४ बाट १५, ५ बाट २४, ६ बाट ३२ र ७ बाट २५ परिवारले बसाईसराइँ गरी गएको गिरीले बताउनुभयो ।
एक वर्षमा पालिका भित्र छ परिवारका १४ जना अन्यन्त्रबाट बसाइँ सरी आएको आफूहरुको तथ्याङ्कमा रहेको गाउँपालिकाले जनाएको छ । यस बाहेक बसाईसराइँको प्रमाणपत्र अर्थात् दर्ता नगरी गाउँबाट शहरमा कोठा भाडा गरी बस्ने र छोराछोरी पठाउन जानेको सङ्ख्या पनि बढी रहेको पाइन्छ ।
कृषि र पशुपालनलाई व्यवसायीक गराइ बसाईसराइँ रोक्न सकिन्छ की भन्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ । यस्तै, सुन्तलाका बिरुवा रोपण गर्नेलाई खाडल खन्न अनुदान दिने र उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने गरी पालिकाले नीति तथा कार्यक्रम बनाएर बजेटकोसमेत व्यवस्था गरेको गिरीले बताउनुभयो ।