अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर २४ गते । हिमाली जिल्ला म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनाको बन्चरेडाँडा क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) भेटिएको छ । म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट फर्किने क्रममा धवलागिरी गाउँपालिकाका कर्मचारी तेजिन्द्र मगरले रेडपाण्डाको तस्बिर र भिडियो खिच्नु भएको हो ।
समुन्द्री सतहदेखि तीन हजार एक सय मिटर उचाईमा पर्ने उक्त क्षेत्रमा रेडपाण्डा बच्चा जस्तै देखिएको मगरको भनाइ छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनसहितको टोली उक्त क्षेत्र हुँदै फर्कने क्रममा रेडपाण्डा भेटिएपछि थप संरक्षणका लागि आसपासका स्थानीयलाई जानकारी गराइएको बताउनुभयो ।
धवलागिरी गाउँपालिकाको अन्य क्षेत्रमा पनि पहिला रेडपाण्डा भेटिएको भए पनि यो ठाउँमा पहिलोपटक भेटियो, यो वन्यजन्तुलाई चोरीसिकारीबाट जोगाउन समुदायस्तरबाटै अभियान सञ्चालनको योजना बनाउँछौ अध्यक्ष पुनले भन्नुभयो ।
लजालु स्वभाव रहेको मानिने दुर्लभ जङ्गली जनावर रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेकोे जस्तो देखिएको उहाँले बताउनुभयो । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गुर्जा, वडा नं २ लुलाङमा पनि भेटिएको रेडपाण्डाको वडा नं ४ मुदीमा समेत बासस्थान भेटिएको थियो ।
एकदशक अगाडि अनुसन्धानकर्ता बन्द्री पाण्डेले लुलाङको टोलीले मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान रहेको पुष्टी गरेको थियो । अध्ययन अनुसन्धानको दशक बित्दा पनि समुदायस्तरबाट संरक्षण तथा सम्भाव्यता अध्ययन सम्म हुन नसक्दा रेडपण्डाको अवस्थ के कस्तो होला भनेर अनुमान गर्ने सीवाय अन्य हुन सकेको थिएन ।
शिकारीलाई सहज हुने गरी बस्ने रेडपाण्डाको महत्त्वका बारेमा समुदायस्तरमा जानकारी गराउन डिभिजन बन कार्यालय, स्थानीय गाउँपालिका चुकेको छ । यो जनावर रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसा लगायत झारपात खान भुईमा झर्ने विज्ञहरुको भनाइ छ ।
धवलागिरी गाउँपालिका भित्र फरक–फरक ठाउँमा भेटिएकाले रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । रेडपाण्डा जोगाउन समुदायलाई सक्रिय बनाउन सकेमा रेडपाण्डाको अनुसन्धानका लागि गन्तव्य बनाउन सकिने जानकारहरु बताउँछन् । रेडपाण्डा जोगाउन वडा स्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेकोडिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।