• ९ पुस २०८१, मङ्गलबार

मधेशका बजारमा पहाडका सुन्तला

blog

बर्दीबासको शनिबारे हाटमा सुन्तला बेच्दै रामेछाप र सिन्धुलीका सुन्तला व्यापारी । तस्बिर : रवीन्द्र उप्रेती

बर्दीबास समाचारदाता

बर्दीबास, मङ्सिर २४ गते । पौष्टिक फल भएर पनि पहाडी जिल्लामा खपत नहुँदा बजार खोज्दै सुन्तला कृषक अहिले तराई झर्न थालेका छन् । यसअघि पनि मधेशका बजारमा पाइने सुन्तला पहाडी जिल्लाकै उत्पादन थिए । यस पटक भने सुन्तला उतैको भए पनि अवस्था केही फरक देखिएको छ । गत वर्षसम्म तराईका व्यापारी पहाडी जिल्लामा पुगेर सुन्तला किनेर ल्याउँथे । यस पटकदेखि आफ्नो उत्पादन बिक्री गर्न पहाडका सुन्तला उत्पादक व्यापारी बनेर आफैँ तराईका बजार झरेका हुन् । 

रामेछाप सुनापति गाउँपालिका र सिन्धुलीको खनियाँखर्कबाट दुई मिनी ट्रक सुन्तला बोकेर प्रेमबहादुर लामा र मिलन खत्री बर्दीबासलगायत मधेशका हाटबजारमा सुन्तला बेच्दै आउनुभएको छ । उहाँहरूलाई पछ्याउँदै रामेछापकै रामबहादुर लामा पनि सुन्तला र जुनारले भरिएको ट्रक लिएर बर्दीबासको शनिबारे हाटमा देखा पर्नुभएको छ । 

आफ्नो उत्पादनको बजारीकरण किसान आफैँले गर्न थालेपछि अहिले बजारमा सुन्तलाको भाउ सस्तिएको छ । बर्दीबासका फलफूल व्यापारीको पसलमा सुन्तला आकार अनुसार प्रतिकिलोग्राम १४० रुपियाँसम्म पर्छ । महँगो भएकाले यसअघि सुन्तला जस्तो पौष्टिक फल सबैको पहुँचमा थिएन । 

सोही बजारमा पहाडका कृषकले सुन्तलाको ट्रक झारेपछि सस्तिएर प्रतिकिलोग्राम ९० रुपियाँ पुगेको छ । सिन्धुलीको रसिलो जुनारको दाम प्रतिकिलो ५० रुपियाँमा झरेको छ । यसअघि फलफूल व्यवसायीले जुनार एक सय रुपियाँ प्रतिकिलो बिक्री गर्दै आएका थिए । एकातिर ताजा र रसिला पहाडी उत्पादन अर्कातिर भाउ पनि सस्तिएपछि उहाँहरूको ट्रक नै पसल बनेको छ । ग्राहक झुम्मिएका छन् ।

स्वाद र गुणस्तरमा शङ्का गर्नेलाई प्रेमबहादुरले हातमै सुन्तलाको दाना राखिदिएर भन्नुभयो, “पहिले चाख्नुस् । मिठो लागे मात्र लिनुस् । हामी ढाँट्न आएका हौँ र ?”

शङ्का निवारण भएपछि ग्राहकले मन खोलेर किन्ने गरेकाले बर्दीबासको हाटमा सुन्तला ग्राहकको भिडले तरकारी बजारलाई पनि उछिनेको छ । जुनार र सुन्तलाको व्यापार फस्टाउँदै गएको छ ।   

ग्राहक उर्लेपछि सिन्धुली खनियाँखर्कका युवा मिलन खत्रीले शनिबार बिहान १० बजेसम्म छ क्विन्टल सुन्तला बिक्री गरेको बताउनुभयो । २४ वटा क्यारेटमा करिब पाँच क्विन्टल सुन्तला ल्याएका रामेछापका प्रेमबहादुर लामाको अब चार क्यारेट सुन्तला मात्र बाँकी छ । ग्राहक थपिँदै गएकाले त्यो पनि केहीबेरमै सकिने उहाँले बताउनुभयो । 

रामेछापकै रामबहादुर लामाले जुनार र सुन्तला गरी १० क्विन्टल जति ल्याएकोमा आधा बिक्री गरिसकेको बताउनुभयो । 

विगतका वर्षमा सुन्तला टिप्ने बेलातिर मधेशका व्यापारी पहाडमै पुगेर गर्ने मोल अत्यन्त कम हुने भएकाले आफ्नो उत्पादनको बजारीकरण गर्न आफैँ अघि सरेको उहाँले बताउनुभयो । “बजार गर्न नजान्दा उता हामी ठगिन्थ्यौँ, यता ग्राहक ठगिन्थे । अनि किन कोही ठगिने ? भनेर सुन्तलाको व्यापार गर्न आफैँ कस्सिनु परेको हो,” उहाँले भन्नुभयो । 

आफैँ बजारसम्म आएर बिक्री गर्न पाउँदा सुन्तला उत्पादक आत्मनिर्भर हुँदै गएको खनियाँखर्कका युवा कृषक मिलन खत्रीले बताउनुभयो । उहाँका अनुसार किसान आफैँ बजारसम्म पुगेपछि बिचौलियाले मौका नपाउने हुँदा सुन्तला भाग पनि सस्तिएको छ । 

“उत्पादक र उपभोक्ताबिच सिधा सम्पर्कले हामी किसानले सुपथ मूल्य पाएका छौँ । ग्राहकले बजारभन्दा सस्तो र ताजा सुन्तला पाउनुभएको छ,” उहाँले भन्नुभयो ।