अविनाश चौधरी
धनगढी, मङ्सिर २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई यथेष्ट लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
धनगढीमा शनिबारबाट सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले नीतिगत सुधारका माध्यमबाट सरकारले लगानीको वातावरण बनाउने बताउनुभएको हो । उहाँले भन्नुभयो, “आजको शिथिल अर्थतन्त्रलाई सरकारले माथि उठाउन चाहेको छ ।’’
पछिल्लो पटक नेपालमा विदेशी लगानी बढेको मन्त्रीको भनाइ थियो । उहाँले युवा विदेशिने क्रम निराशामात्रै नभइ आशा पनि रहेको बताउनुभयो । रहरलेमात्रै नभइ सम्भावनाले पनि युवा विदेश गइरहेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले थप्नुभयो, “हामीले निराशाको गीतमात्रै गाएर हुँदैन, आशा र सम्भावनाको पनि कुरा गर्नु पर्दछ । नेपालमा सम्भावना नभएर सबै युवा विदेशिय भन्यौं भने यो एउटा गलत भाष्य हुने छ ।”
आर्थिक वृद्धिदर उच्च रहेका दुई छिमेकीबाट नेपालले लाभ लिन सक्नुपर्ने उहाँको जोड थियो । अहिलेको निराशालाई आशा र सम्भावनामा बदल्ने सरकारले सङ्कल्प लिएको मन्त्रीले उल्लेख गर्नुभयो । उद्यमशिलता र व्यापार वृद्धि आजको अहम विषय रहेको उहाँको भनाइ थियो ।
पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत आयोजना बनेमा सुदूरपश्चिमको मात्रै नभइ मुलुककै कायापलट हुने मन्त्री भण्डारीले जिकिर गर्नुभयो । उहाँले सुरुमा ७५० मेगावाटको अध्ययन भएको पश्चिम सेती जलविद्युत आयोजनालाई ८०० मेगावाटको बनाउन सकिने गरी पछिल्लो पटक अध्ययन भएको बताउनुभयो ।
पश्चिम सेती जलविद्युत आयोजनालाई बनाउनका लागि भारतीय कम्पनीसँग सम्झौता भइ विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भएको मन्त्रीको भनाइ थियो । उहाँले पश्चिम सेती जलविद्युत आयोजनालाई केही समयपछि कार्यान्वयन गर्ने गरी प्रस्ताव लगानी बोर्डबाट स्वीकृत भएको जानकारी दिनुभयो ।
यसैगरी, अछाममा माथिल्लो कर्णाली निर्माणका लागि लागत स्टिमेट स्वीकृत गरी यसलाई अगाडि बढाउने निर्णय भइसकेको मन्त्री भण्डारीले बताउनुभयो । यी दुई ठुला आयोजनाले आर्थिक रुपमा उच्च ‘भाइब्रेन्ट’ हुने भएकाले सरकारले यी दुई परियोजनालाई अगाडि बढाएको उहाँको भनाइ थियो ।
महोत्सव उद्घाटनको क्रममा सुदूरपश्चिमको विकासको सवालमा पूरा हुन बाँकी १० बुँदा माग बराबर १० किलोको फूलको माला मन्त्री भण्डारीलाई लगाइएको थियो । यसैगरी, विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । महोत्सव उद्घाटन अवसरमा विभिन्न समुदायको कला, संस्कृति झल्किने साँस्कृति झाँकी पनि प्रस्तुत गरिएको थियो ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको १८ औं संस्करणको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ ।