• ९ पुस २०८१, मङ्गलबार

सिलाम साक्माको प्रतिमा निर्माण

blog

ठाकुर सेनेहाङ 

तेह्रथुम, मङ्सिर २३ गते । लिम्बू जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको प्रतिमा तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा निर्माण गरिएको छ । लिम्बू समुदायले आफ्नो पहिचान झल्काउने लोगोका रूपमा प्रयोग गर्दै आएको सिलाम साक्माको प्रतिमा पाहिम परिवारले निर्माण गरेका हुन् ।

लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो । अर्थात् सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । मरेका आत्माको विचार र उनीहरूको बाटो सधैँका लागि छेक्ने वा बन्द गर्र्ने प्रतीकका रूपमा लिम्बू जातिले प्रयोग गर्दै आएको सिलाम साक्मालाई विश्वसामु चिनाउनका लागि प्रतिमा निर्माण गरिएको सिलाम साक्मा मूल समितिका अध्यक्ष दिलीपकुमार पाहिमले बताउनुभयो ।

आठराई क्षेत्रमा बसोबास गर्ने लिम्बू जातिका पाहिम परिवारले निर्माण गरेको यो कङ्व्रिmटकोे सिलाम साक्मा विश्वकै अग्लो र ठुलो रहेको निर्माण समितिले दाबी गरेको छ । सिमेन्ट, बालुवा, गिट्टी र मार्बलबाट निर्माण गरिएको सिलाम साक्माको उचाइ ४० फिट रहेकोे छ । पाहिम परिवारद्वारा सङ्कलित ३५ लाख रुपियाँको लागतमा निर्माण गरिएको सिलाम साक्माले सांस्कृतिक पहिचानसँगै आठराई क्षेत्रको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा रहेको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । “सिलाम साक्मा हेर्नकै लागि विभिन्न ठाउँबाट मानिस आउन थालेका छन्,” उहाँले भन्नुभयो । 

सिलाम साक्मा भनेको विशेष गरी लिम्बू समुदायले आफ्नो पहिचान झल्काउन प्रयोग गर्ने लोगोे हो । योे लोगो लिम्बू समुदायको कर्मकाण्डमा फेदाङ्मा, येबा, साम्बा, देवारीहरूले बाँसको सिन्का र उनीको धागोबाट निर्माण गर्ने सिलाम साक्मा पछिल्लो समय लिम्बू तथा अन्य जातिले समेत धागोका साथै विभिन्न धातुको निर्माण गरेर लगाउने प्रचलन बढ्दै गएको छ । छातीमा टाँसिने सिलाम साक्माको स्तम्भ निर्माणले लिम्बू संस्कार र सभ्यतालाई जीवन्त राख्ने सिलाम साक्मा मूल समितिका उपाध्यक्ष मनबहादुर पाहिमले बताउनुभयो ।

थाक्थुङ मुन्धुम अनुसार सिलाम साक्माले मरेका आत्माको विचार र बाटो सधैँका लागि छेक्ने गर्छ । जीवित रहनेको दिनचर्या स्वस्थ, स्फूर्ति र उच्च मनोबलका साथ बढ्ने ऊर्जा सिलाम साक्माले प्रदान गर्छ भन्ने जनविश्वास छ । लिम्बू समुदायको पहिचानका रूपमा रहेको सिलाम साक्मा खास गरी सांस्कृतिक कार्यव्रmम, सभा समारोहमा ब्याजका रूपमा अतिथिलाई लगाइदिने प्रचलन रहेको छ ।