• ९ पुस २०८१, मङ्गलबार

फिदिममा ट्रिटमेन्ट प्लाण्टसहितको खानेपानी ट्याङ्की

blog

बीपी सामुदायिक वन उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष शिवराज नेम्वाङ नव निर्मित ट्याङ्की उद्घाटन गर्नुहुँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, मङ्सिर २३  गते ।
पाँचथरको फिदिम नगरपालिका १ माथ्लो गाउँ सिरानमा ट्रिटमेन्ट प्लाण्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण भएको छ ।

फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ट्याङ्की निर्माण गरेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरको १४ लाख ५० हजार र उपभोक्ता समितिको ग्राहक शुल्कबाट सङ्कलित १८ लाख ५० हजार गरी ३३ लाख रुपियाको लागतमा ट्याङ्की निर्माण भएको हो ।

ट्याङकी विशेषतः फिदिम १ माथ्लोगाउँका उपभोक्तालाई पानी वितरणका लागि लक्षित गरेर निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो । ट्याङ्की निर्माणका लागि बीपी सामुदायिक वन उपभोक्ता समितिले डेढ रोपनी जग्गा उपलब्ध गराएको थियो ।

मुहानबाट ल्याइएको पानी उक्त ट्याङकीमा प्रशोधन हुन्छ । सो पानी पहिलो प्राथमिकतामा माथ्लोगाउँका नागरिकलाई वितरण गर्दै बचत रहे मुल ट्याङ्कीमा मिसाएर फिदिम बजारसहित २ र ४ नम्बर वडाका उपभोक्ताको धारासम्म पठाउने योजना रहेको उपभोक्ता समितिले जनाएको छ ।

ट्रिटमेन्ट प्लान्टसहितको ट्याङ्कीको उद्घाटन बीपी सामुदायिक वन उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष शिवराज नेम्वाङले गर्नुभयो ।

उद्घाटन समारोहमा स्थानीय, उपभोक्ता, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, सहयोगीहरु, उपभोक्ता समितिका पूर्व पदाधिकारी र र सञ्चारकर्मीको उपस्थिति थियो ।