गोकर्ण दयाल
बैतडी, मङ्सिर २२ गते । सांस्कृतिक कुरीति हटाउन यहाँका धार्मिक अगुवा ज्योतिष पण्डित दलित बस्तीमै पुगेर कर्मकाण्ड गरेका छन् । बनारसीधामका पुजारी एवं धार्मिक अगुवा ज्योतिष पं. गणेशप्रसाद पन्तले शुक्रबार दशरथचन्द नगरपालिकाका गोविन्द परियारको घरको विधिवत् पूजापाठ गरी घरको शिलान्यास गर्नुभयो ।
लामो समयदेखि काठमाडौँ बस्दै आउनु भएका अधिवक्तासमेत रहनु भएका पूर्व प्रहरी उपरीक्षक गोविन्द परियारले समाजमा बिस्तारै जातीय विभेद हट्न थालेपछि गाउँ फर्केर घर निर्माण गरेको बताउनुभयो । दशरथचन्द नगरपालिका–८, त्रिपुरा पुर्ख्यौली घर भएका परियार नेपाल प्रहरीको उच्च पदमा पुग्ने सुदूरपश्चिमको पहिलो दलित समेत हुनुहुन्छ ।
स्नातकोत्तर र कानुन विषयमा एलएलबी अध्ययन गर्नुभएका परियार सेवा निवृत्तपछि कानुन व्यवसायीका रूपमा काम गर्दै आउनु भएको छ । परियारको घरको विधिवत् शिलान्यासपछि ज्योतिष पं. गणेशप्रसाद पन्तले शुक्रबारको पूजासहित अहिलेसम्म १२४ जना दलितको घरमा कर्मकाण्ड गरिसकेको बताउनुभयो ।
सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईलाई समेत जनैधारण गराइसकेको ज्योतिष पं. पन्तले बताउनुभयो । शुक्रबार दशरथ चन्द नगरपालिकाको दलित बस्तीमा पुग्दा पं. पन्तलाई स्थानीयले फूलमाला र अबिरले स्वागत गरेका थिए ।
घरको शिलान्यासपछि अधिवक्ता गोविन्द परियारले राज्यको उच्च ओहोदामा पुगेर पनि समाजमा जातीय विभेद खेप्नु पर्दा पुर्ख्यौली घर छाडेर जिल्ला बाहिर बस्नु परेको पीडा सुनाउनुभयो । आजबाट यो पीडाको अन्त्य गरेर धार्मिक गुरुबाट नयाँ कामको थालनी हुँदा खुसी भएको परियारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानिस सामाजिक प्राणी हो । समाजमा सम्मान र समानता छैन भने धन, सम्पत्ति, घर, गाडीजस्ता कुराले खुसी दिन सक्दैन । आफ्नो माटो र समाजमा फर्किन पाउँदा असाध्यै खुसी छु ।”
दशरथ चन्द नगरपालिकामा बसाइसराइका कारण गाउँबस्ती रित्तिँदै गइरहेका बेला गोविन्द परियारजस्तो उच्चपदस्थ व्यक्ति गाउँ फर्केर घर बनाउनु समाजका लागि निकै ठुलो उपलब्धि भएको स्थानीय सामाजिक अगुवा एवं पूर्व वडा सदस्य किसनसिंह गुरु क्षेत्रीले बताउनुभयो ।
धर्म, संस्कृति, परम्परा समयसापेक्ष परिवर्तन र अनुकूलन हुँदै जानुपर्छ भन्ने कुरामा धार्मिक गुरु नै अग्रसर हुन थालेपछि परिवर्तनको सुरुवात भएको उहाँले बताउनुभयो ।
पाटन नगरपालिका–८, खोडपे, बैतडी निवासी ज्योतिष पण्डित पन्तले धार्मिक कुरीति हटाउन अहिलेसम्म २२ वटा सप्ताह, ११ वटा शिवपुराण, ५१ वटा लघु रुद्राभिषेक गरिसकेको बताउनुभयो ।
उहाँले, धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय, लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा एकजुट भएर लाग्नुपर्ने स्पष्ट पार्नुभयो । कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले पनि हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सुदूरपश्चिमका सबै जिल्लामा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारान, विवाह, व्रतबन्ध गर्दैनन् । त्यति मात्र होइन, चिहान घाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा म आफैँ लागेको हुँ । दलितको घरमा धार्मिक कार्य गर्दै आइरहेको छु ।”
पन्तले थप्दै भन्नुभयो, “सन्या पूजामा अथर्व वेदको उच्चारण गरेर यो दलितको वेद हो भन्दै भुईँमा पानी खसाल्ने गलत काम भइरहेको छ । अथर्व वेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनायो । हामी सबै त्यसको उपभोग गरिरहेका छौँ, तर त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद गरिरहेका छौँ । यस्ता कुरीति हटाउनु पर्छ ।”