ऊ
भोको थियो
नाङ्गो थियो
अरू जस्तै
पेटभरि खान चाहन्थ्यो
एकसरो आङ ढाक्न चाहन्थ्यो ।
ऊसँग
कपी किन्ने पैसा थिएन
स्कुल जाने फी थिएन
अरू जस्तै
कापी कलम चेपेर
स्कुल जान चाहन्थ्यो ।
ऊ
एकबारको अमूल्य जुनी
धामीझाँक्रीको
फुमन्तरमा होइन
अरू जस्तै
डाक्टरलाई नाडी छमाएर
बाँच्न चाहन्थ्यो ।
बस् !
बस्... !!
यत्ति नै हो
ऊसँग भएका
रङ्गीन सपनाहरू...।
नेताजीले
एक दिन झन्डा थमायो र भन्यो–
‘साथी !
यो झन्डा नै
तपाईंको गन्तव्यमा पुग्ने अन्तिम बाटो हो ।’
ऊ
त्यस दिनदेखि
झन्डा फर्फराएर
जुलुसको अघि अघि हिँड्यो
भोक हडतालमा बस्यो
कहिले
किसानको माग लिएर
कहिले
मजदुरको माग लिएर
कहिले
विद्यार्थीको माग लिएर ।
ऊ
सत्तासँग जुध्यो
सत्ताको सेनासँग लड्यो
पुलिस प्रशासनसँग जुध्यो/जुधिरह्यो
कहिल्यै
हार मानेन/थकान मानेन
जुध्दाजुध्दै
जुलुसमा झन्डा बोकिरहने मान्छे
ऊ,
म¥यो ।
अफशोच !
उसले जिन्दगीभरि बोकेको झन्डा
न जिउँदोभरि
एकसरो आङ ढाक्ने कपडा बन्यो
न मरेपछि नै
लास छोप्ने कात्रो बन्यो
जुलुसमा
उसको वरिपरि झुम्मिने त्यो विशाल भिड
न मलामी बनेरै उभियो ।