• १ माघ २०८१, मङ्गलबार

मकैको कुनिउँ खोज्न व्यापारी गाउँमा

blog

बानेगाउँका स्थानीयले बनाएको मकैको कुनिउँ । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, मङ्सिर २२ गते । बाजुराका अधिकांश ठाउँमा मकैका कुनिउँ खोज्न व्यापारी गाउँमा पुग्न थालेका छन् । गाउँमा उत्पादन गरेको अर्गानिक मकैको पछिल्लो समय जताततै माग बढ्न थालेपछि यहाँका व्यापारी दिनप्रतिदिन गाउँ आउने गरेका हुन् ।

पहिला गाउँमा उत्पादन हुने गरेको मकै कतै बिक्री हुँदैनथ्यो । अहिले भने मकै किन्नका लागि व्यापारी धमाधम गाउँमै आउने गरेको बुढीगङ्गा नगपालिका–४, बानेगाउँका स्थानीय महिला जौला कटुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो पनि घरमा दुई/चार मकैको कुनिउँ छ । त्यो मकै किन्नका लागि व्यापारी घरमा आउने गरेका छन् । एक किलोको ३० रुपियाँ उनीहरूले दिने गरेका छन् ।”

भदौमा मकै पाकेपछि त्यसलाई अहिले घरको छतमा राखिएको छ । त्योभन्दा राम्रो मूल्य दियो भने मात्र बेच्ने सोचाइमा कटुवाल रहनुभएको छ । जिल्लाभित्र तथा बाहिरबाट अहिले मकै किन्नेको चहलपहल गाउँमा देखिएको छ । यहाँको अर्गानिक मकै स्वास्थ्यका लागि निकै उपयोगी हुने भएकाले त्यसको खरिदबिक्रीमा आकर्षण बढेको हो । मकै सबैभन्दा धेरै खपत हुने बालीमा पर्छ । धेरै मानिसले उसिनेका मकै वा पोलेका मकै खान मन पराउँछन् । मकै खाएमा स्वास्थ्यका लागि निकै फाइदा हुन्छ । 

बाजुराको हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणीलगायतका विभिन्न ठाउँमा मकै उत्पादन हुने गरेको भए पनि सबैभन्दा बढी बुढीगङ्गा र त्रिवेणीमा हुन्छ तर पनि यहाँका स्थानीयले मकै खासै लगाउँदैनन् । पछिल्लो समय देशका विभिन्न सहरबाट यसको माग बढ्दै गएपछि स्थानीय तहले पनि अर्गानिक खाद्यान्नलाई बढी प्राथमिक दिन थालेको छ । 

बाजुराको अर्गानिक मकैको पछिल्लो समय देशका विभिन्न सहरमा माग बढ्न थालेपछि अहिले यहाँका स्थानीयले पनि फेरि मकै खेतीप्रति निकै चासो राख्न थालेका छन् । 

यस वर्षदेखि यहाँको अर्गानिक मकै देशका विभिन्न सहरमा जान थालेको छ । यहाँको मकै अहिले प्रायः धनगढी र काठमाडौँमा जान थालेको छ । अहिले यहाँका केही स्थानीय तहले पनि विद्यालयमा बालबालिकालाई खुवाइँदै आएको दिवा खाजामा कोदो, मकै, जौ, गहुँलगायतका विभिन्न परिकार अनिवार्य गर्दै आएका छन् । 

मकै खेतीले यहाँका स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले यहाँका स्थानीयलाई मकै खेतीमा उत्प्रेरित गर्दै आएको बाजुराका स्थानीय तह बताउँछन् ।

जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिन छ । त्योमध्येकै २२ हजार हेक्टर खेतीयोग्य जमिन छ । यहाँको एक हजार ३५० क्षेत्रफल हेक्टर जमिनमा मकै खेती गरिन्छ । यसमा ५०.२५ मेट्रिक टन मकै उत्पादन हुन्छ । यहाँ १.५ मेट्रिक टन मकैको उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताउनुभयो ।