गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ३० गते । गीतकार नारायण खतिवडाले शब्द सिर्जना गर्नुभएको नयाँ गीत ‘जमाना आजकल’ सार्वजनिक भएको छ । गीतले शीर्षककै झल्को दिने गरी वर्तमान समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असरलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । गीतमा सामाजिक मूल्यमान्यता आएको रूपान्तरणलाई चिरफार गरिएको छ । गीतले संस्कृति, पहिरन र पहिचानको प्रश्न उठान गरेको पाइन्छ । जसमा दौरासुरुवाल, ढाकाटोपी, गुन्यूचोली, फरिया जस्ता नेपाली परम्परागत पोसाकलाई फेसनले विस्थापित गरिरहेको विषय उठाइएको छ ।
गीतमा मनोज सङ्सोन राईको स्वर तथा सङ्गीत रहेको छ । सङ्सोनलाई सुरेश पायल राई र बिनुसा राईको साथ दिनुभएको छ । नमस्ते नेपाल डिजिटल स्टुडियोबाट गीत सार्वजनिक गरिएको हो ।