• ३० भदौ २०८२, सोमबार

सामाजिक सद्भाव अपरिहार्य

blog

मानिस सामाजिक प्राणी हो । नागरिक हुनका लागि नागरिक गुणले पूर्ण हुनु पर्छ । मानवीय क्रियाकलाप, प्रकृति र विविध घटनाक्रमद्वारा सिर्जित हुन्छ समाज । यही समाजका उपज मुलुकको शासन सत्तामा पुग्ने व्यक्ति हुन् । जस्तो सामाजिक परिवेशबाट दिक्षित तथा प्रशिक्षित हुन्छ, सोही अनुरूपका चरित्र नागरिकमा सिर्जना भएको हुन्छ । सुख शान्ति, अमन चयन तथा उन्नति अवनति तथा समृद्धि सबै नागरिक सचेतना र सामाजिक प्रतिविम्ब हुन् । जस्तै खराब अवस्था पनि नागरिकको समन्वय र सहकार्यबाट पार गर्न सकिन्छ भन्ने सन्देश विश्व समुदायलाई दिलाउने गरी मुलुक र नागरिकको हितमा काम गर्नुपर्ने हुन्छ ।

नेपालमा पछिल्लो समयमा विकसित घटनाक्रम निकै अकल्पित र दुःखदायी छन् । निहत्था युवाको मृत्यु भएको छ, धेरै मानिस घाइते भएका छन्, आगजनी, लुटपाट, तोडफोड र ध्वंसका धेरै घटना भएका छन् । जनधनको अपूरणीय क्षति भएको छ । अर्थतन्त्रको ढाडै भाँच्चिएको छ । यसै पनि चालु खर्चमा धान्न नसकेको अर्थतन्त्रमाथि खर्बौंको भार थोपरिएको छ । विकास निर्माणका आयोजना अलपत्र बन्ने अवस्थामा छन्, महँगी र बेथितिले नागरिक पिल्सिएका छन् ।

नेपाल र नेपालीजन मात्र होइन, बहुसङ्ख्यक नागरिकको धन जलेको छ, तन जलेको छ । अझ बढी मनै जलेको छ । जेनजी आन्दोलनका माग यथार्थपरक, सहज र सरल नै थिए । मुख्यतः सामाजिक सञ्जाल बन्द गर्न नहुने, भ्रष्टाचार अन्त्य गरी मुलुकमा सुशासन कायम गर्नुपर्ने, सरकारी कामकारबाही पारदर्शी र सरलीकृत गरिनुपर्ने, नातावाद तथा कृपावाद अन्त्य गरिनुपर्ने जस्ता माग थिए । यी माग त जायज माग नै हुन् । मुलुक र नागरिकको हितका लागि गरिएका माग भएको अनुभूति जोकोहीले गर्न सक्छ तर मौकामा चौका हान्ने र स्वार्थ अनुरूप ध्वंस मच्चाउने समूह तथा व्यक्ति सङ्गठित भएर देशैभर उत्पात मच्चाएर जनधनको क्षति गराइएको छ । जेलमा बसेका कैदीलाई भगाउने, सुरक्षाकर्मीका पोस्ट तथा कार्यालयहरू जलाउने तथा तोडफोड पार्ने, हतियार लुट्ने मात्र होइन निजी घर तथा भवन तथा व्यावसायिक प्रतिष्ठानमा हमला तथा आगजनी गर्नेलगायतका कार्यहरू भए, जुन निकै खेदपूर्ण छ ।

बहत्तर जनाको मृत्यु भएको छ, सयौँ घाइते भएका छन् । हजारौँ सवारीसाधन तथा सयौँ सार्वजनिक भवनमा क्षति पु¥याइएको छ । सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, मन्त्री निवासलगायतका अत्यन्तै संवेदनशील क्षेत्रमा आक्रमण भएको छ । यसै गरी उपत्यकामा मात्र नभई देशैभर प्रदेश तथा स्थानीय तहका संरचनामा पनि आगजनी भएको छ । यसबाट नेपाल धर्ती र नेपाली मन निकै मर्माहत भएको छ । यसले सिर्जना गरेको क्षति खर्बौं भएको सामान्य आकलन गर्न सकिन्छ भने ज्यान गुमाएर, घाइते भएकाहरूको पीडाको कुनै मूल्य नै छैन । यस्तो परिस्थिति किन आयो ? यस्तो परिस्थितिको पूर्वआकलन किन गरिएन ? सिंहदरबार तथा राष्ट्रपति निवासमा आगजनी हुँदा पनि नियन्त्रण किन हुन सकेन भन्ने प्रश्न आमसर्वसाधारणमा उठेका छन् । 

मूल प्रश्न भनेको राजनीतिमा सत्तालिप्सा र पदलिप्साको जुन प्रवृत्ति देखिन्छ, त्यसले राजनीतिमा पुस्तान्तरण हुन सकेन र राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र संस्थागत हुन सकेन । असन्तुष्टि जसरी बढ्दै गयो र त्यसविरुद्ध जेनजी पुस्ता सडकमा आए । नेपालको समग्र अवस्था अत्यन्त तरल र अन्धकारमा पु¥याएको छ । समाजमा त्रास र अस्थिरता खडा गरेको छ । सच्चा नागरिकको मन रोएको छ, सरकारी तथा निजी सम्पत्तिलाई खरानी बनाइएको छ । तर भौतिक सम्पत्ति तथा पूर्वाधार त, जुन कुनै सरकार आए पनि आवश्यक हुन्छ, तिनीहरूलाई मास्नु हुँदैन । 

बेथिति चिर्ने र चिरकालसम्म सकारात्मकता दिलाउने भनेको शिक्षा हो । यस्तो शिक्षा पनि नागरिक शिक्षा हो । जबसम्म नागरिकमा सुझबुझ, संयमता, समझदारिता, सहिष्णुता र नागरिक कर्तव्यको बोध हुँदैन, तबसम्म हाम्रा हरेक संरचना विवेकी बन्दैनन् । राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व वा व्यावसायिक नेतृत्व सचेत हुनु जरुरी छ । यी सबैलाई मलजल गर्ने भनेको नागरिक समाज हो । यस्तो विषम परिस्थितिमा पनि समस्यासँग जुध्नका लागि जिउधनको सुरक्षा, पारिवारिक सुरक्षा, छरछिमेक तथा टोलको सुरक्षाका लागि अनौपचारिक नागरिक निगरानी समूह बन्नुपर्ने हुन्छ । नयाँ बनेको सरकार अनि सरकारलाई के कसरी जीवन्तता दिन सकिन्छ भनेर सरसरहयोग तथा हातेमालो गरेर अगाडि बढ्नुको विकल्प फेरि पनि छैन । हामीले कर्म गर्नु पर्छ, इमानदार बन्नु पर्छ । नकारात्मक सोच तथा विचार, गालीगलौज तथा टीकाटिप्पणीभन्दा पनि सकारात्मक सोच, विचार र रचनात्मक सहयोगमा तल्लीन रहनु पर्छ । अनि मात्र यो विकराल भुमरीबाट पार लाग्न सकिन्छ । फेरि पनि सुधारको विकल्प सुधार नै भन्ने गरिन्छ । तसर्थ व्यक्ति व्यक्ति, संस्था संस्था, दल दल र सबै समूह तथा पक्षमा सकारात्मक रूपान्तरणको खाँचो छ । 

हाम्रासामु ठडिएको समस्यामा सबैको सुझबुझ र समन्वय तथा सहकार्यको खाँचो छ । निःस्वार्थ भाव, राष्ट्रप्रेम र सहयोग सबै नेपालीबाट मुलुकले मागिरहेको छ । वेदनालाई शक्तिमा बदलेर अगाडि बढ्नु र इमानदार बन्नु आजको अपरिहार्यता हो । यसबाट नै विवेकी नागरिकको परीक्षण मुलुकले पाउने छ । उद्यमी, व्यवसायी, पेसाकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा राजनीतिक दल तथा कार्यकर्ता सबैले हामीले झेल्नु परेको पीडाबाट मुक्त हुँदै अझ अगाडि बढ्नका लागि उच्च मनोबल लिनु जरुरी छ तर फेरि पनि यस्ता खालका आन्दोलन, जसले भयानक क्षति निम्त्याएको छ, अरू नहोऊन् । सामाजिक सद्भाव कायम होस्, शान्ति कायम होस्, स्वदेशमा श्रम गर्ने वातावरण सिर्जना होस्, युवा पलायनमा कमी आओस् र सुशासन कायम होस् । अनि फेरि कसैले आन्दोलन गर्ने अवस्था नआओस् भन्नेमा सचेत हुनै पर्छ । यसका लागि सामाजिक, नैतिक तथा नागरिक जागरण आवश्यकता पर्छ । यो सबैको मूल भनेको नागरिक शिक्षा नै हो ।

 

Author

रघुराम पराजुली