• १२ पुस २०८१, शुक्रबार

गर्भवती महिलालाई विशेषज्ञसहितको भिडियो एक्सरे सेवा

blog

विशेषज्ञ चिकित्सकबाट गर्भवती महिलाको चेकजाँच गर्दै । तस्बिर : लाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, मङ्सिर २२ गते ।
ग्रामीणस्तरका गर्भवती महिलाहरुलाई विशेषज्ञ चिकित्सकबाट भिडियो एक्सरे गराउन सदरमुकाम तम्घास आउन समय र पैसा दुबैको बढी खर्च हुन्थ्यो । जिल्लाको भौगोलिक रुपमा विकट मानिने मालिका गाउँपालिकाले सोही समस्यालाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकबाट गाउँमै शिविरमार्फत भिडियो एक्सरे सेवा प्रदान गरेको छ ।

१२ देखि २६ हप्ताका गर्भवती महिलालाई लक्षित गरी गाउँपालिकाले एनोमल्ली स्क्यान अर्थात् बच्चाको असमान्य अवस्थाबारे भिडियो एक्सरे सेवा प्रवाह गरेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले आफ्नै जनशक्तिबाट वडाका सबै स्वास्थ्य संस्थाबाट गर्भवती महिलालाई भिडियो एक्सरे सुविधा प्रवाह गरिरहे पनि विशेषज्ञ चिकित्सकबाट पहिलो पटक गर्भवती महिलालाई सेवा उपलब्ध गराएको हो  ।

आर्थिक अभावसँगै चेतनाको कमि र स्वास्थ्य संस्थासँग नागरिकको पहुँच नहुँदा गाउँमै शिविरको आयोजना गरी सेवा उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । एनोमल्ली स्क्यानले बच्चाको सम्पूर्ण स्वास्थ्य अवस्था बुझ्न सक्ने गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बसन्तराज भुसालले जानकारी दिनुभयो ।

गाउँमै विशेषज्ञ चिकिसत्कबाट सेवा सुविधा पाउँदा खुसी लागेको स्थानीय नोमिता खत्रीले बताउनुभयो । यस्तै कार्यहरुलाई निरन्तरता दिनका लागि मनिषा अर्यालले आग्रह गर्नुभयो । गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा बच्चाको अवस्था थाहा पाउँन सकिएकोमा गर्भवती महिलाहरु खुसी भएका छन् । गाउँपालिकाका ५५ जना गर्भवती महिलाले उक्त सेवा लिए भने एक जनाको अवस्था असमान्य देखिएपछि अन्यत्र रिफर गरिएको भुसालले बताउनुभयो  ।

समयमै एनोमल्ली स्क्यान गर्दा बच्चामा देखिएको समस्या अनुसार सुत्केरी गराउने स्वास्थ्य संस्थाको समेत पत्ता लाग्ने वरिष्ठ रेडियो लोजिष्ट डा. रामप्रसाद खनालले  बताउनुभयो ।

गाउँमै विशेषज्ञ चिकित्सकबाट गर्भवती महिलालाई सेवा प्रवाह गर्दा स्वस्थ बच्चा जन्मने हुँदा यस कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष देवीराम अर्यालको बताउनुभयो । पालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको उहाँको भनाइ छ ।