नवराज श्रेष्ठ
रामेछाप, मङ्सिर २२ गते । रामेछापको रामेछाप नगरपालिका–६, ओख्रेनीका टेकबहादुर तामाङको बारी यतिबेला रहरलाग्दा जुनारका दानाले ढाकिएको छ । तामाङ सात वर्षदेखि जुनार तथा सुन्तलाको व्यावसायिक खेतीमा हुनुहुन्छ । केही वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका तामाङले तीन वर्षअघि आरुखर्के कृषि तथा पशुपन्छी कृषि फर्म दर्ता गरी आफ्नै गाउँमा कृषि कर्म गरिरहनुभएको छ । उहाँको परिवारले भने यसअघि नै जुनार खेती सुरु गरेको थियो ।
सुरुमा थोरै जमिनबाट सुरु गरिएको जुनार खेती अहिले सात रोपनीभन्दा बढी जमिनमा विस्तार भएको तामाङले बताउनुभयो । विगतका वर्षहरूमा भन्दा यस वर्ष जुनार राम्रो फलेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बगैँचामा यो वर्ष राम्रो जुनार फलेको छ । गत वर्ष ५० हजार रुपियाँको जुनार बिक्री भएको थियो । यस वर्ष एक लाख रुपियाँभन्दा बढीको बिक्री गर्ने अनुमान छ । बगैँचा विस्तारकै क्रममा रहेकाले आगामी वर्षहरूमा उत्पादन बढ्दै जान्छ ।”
ओख्रेनीकै हिमाल तामाङ गत वर्षभन्दा यो वर्ष जुनार उत्पादन दोब्बरले वृद्धि हुने अनुमान लगाउँदै उत्साहित हुनुहुन्छ । उहाँ २५ वर्ष भारतमा रोजगारी गरी गाउँ फर्किएपछि २०७४ सालबाट व्यावसायिक जुनार खेतीमा सक्रिय हुनुहुन्छ । यो वर्ष गत वर्षभन्दा दोब्बरले जुनार उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष साढे दुई लाख रुपियाँको जुनार बेचेकोमा यस वर्ष साढे चार लाख रुपियाँभन्दा बढीको जुनार बेच्ने अनुमान छ ।”
अहिले आफ्नो जुनार बगैँचा १५ रोपनी क्षेत्रफलमा रहेको र यो वर्ष फेरि सात रोपनी जमिनमा जुनार खेती विस्तार गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । विगतका वर्षहरूमा भन्दा यो वर्ष राम्रो जुनार फलेपछि रामेछाप नगरपालिका–६, ओख्रेनीका जुनार कृषक खुसी भएका छन् । विगतका केही वर्ष औँसा किराको प्रकोपले चिन्तामा रहेका यहाँका जुनार कृषक पछिल्ला दुई वर्षदेखि जुनार उत्पादन बढेपछि उत्साहित भएका छन् ।
रामेछाप नगरपालिका–६, ओख्रेनीलगायतका ठाउँलाई केही वर्ष अगाडिदेखि जुनार जोनका रूपमा विकास गरी जुनार, सुन्तला उत्पादक कृषकलाई प्रोत्साहन गरिँदै आएको छ । यो वर्ष जुनार जोनमा मात्रै चार हजार ५३६ मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष जुनारमा कुनै प्रकारको रोग किरा नदेखिएका कारण पनि जुनार उत्पादन बढ्ने अनुमान गरिएको हो ।
गत वर्ष जुनार जोन क्षेत्रमा चार हजार पाँच मेट्रिक टन जुनार उत्पादन भएकोमा यो वर्ष गत वर्षको भन्दा चार प्रतिशतले जुनार उत्पादन बढ्ने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले रामेछापको जुनार जोनमा ५४० हेक्टरमा जुनारलगायत अमिलो जातका फलफूलको व्यावसायिक खेती हुँदै आएको छ । किसानका जुनार बगैँचामा रहेका ६० प्रतिशत फल दिने बिरुवा रहेका छन् । यस वर्ष फल राम्रो भएकाले प्रतिहेक्टर १४ मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिएको छ । किसानले किलोको ५० रुपियाँका दरले बिक्री गर्दा पनि यो वर्ष २२ करोड ६८ हजार रुपियाँ बराबरको जुनार उत्पादन हुने अनुमान गरिएको छ ।”
रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामेछाप, रामपुर, हिमगङ्गा र मन्थली नगरपालिकाको सालु, सुनारपानी, देउराली, भलुवाजोर, पुरानागाउँ, फुलासीलगायतका ठाउँसँगै दोरम्बा शैलुङ, सुनापती, उमाकुण्ड र गोकुलगङ्गा गाउँपालिकाको विभिन्न ठाउँमा जुनार, सुन्तलालगायत अमिलो जातका फलफूल खेती हुँदै आएको छ ।
कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइलगायत स्थानीय सरकारले पनि किसानलाई अमिलो जातका फलफूल खेतीमा निःशुल्क प्राविधिक सहयोग, सिँचाइ, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा ५० देखि ७५ प्रतिशतसम्म सहयोग गर्दै आएका छन् । कृषि विकास कार्यालय रामेछापको तथ्याङ्क अनुसार रामेछापमा एक हजार ३२३ हेक्टरभन्दा बढी क्षेत्रमा जुनार, सुन्तलालगायतका अमिलो जातका फलफूल खेती हुने गरेको छ ।