• १ असोज २०८२, बुधबार

नाइजरको बप्तिस्मा समारोहमा आक्रमण, २२ जनाको मृत्यु

blog

आबिदजान, असोज १ गते । मोटरसाइकलमा आएका बन्दुकधारीले पश्चिमी नाइजरमा २२ जना गाउँलेलाई गोली हानी हत्या गरेका छन् । मारिने मध्ये धेरै बप्तिस्मा समारोहमा सहभागी रहेका थिए । घटना सोमबार तिलाबेरी क्षेत्रमा भएको हो । 

उक्त क्षेत्रमा अल-कायदा र इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित जिहादी समूह सक्रिय छन् । टाकौबट गाउँमा आयोजित बप्तिस्मा समारोहमा १५ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् । उहाँका अनुसार आक्रमणकारीले त्यसपछि गाउँको बाहिरी क्षेत्रमा गएर थप सात जनाको हत्या गरेका थिए ।

स्थानीय सञ्चार माध्यम एल्मेस्ट्रो टिभीले ‘कुनै कारण वा औचित्यबिना २२ निर्दोष मानिसको कायरतापूर्ण हत्या’ भएको उल्लेख गरेको छ । मानवअधिकार कार्यकर्ता माइकौल जोडीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “फेरि एक पटक तिलाबेरी बर्बरताले ग्रस्त भएको छ, निर्दोष परिवार शोक र निराशामा डुबेका छन् ।”

सन् २०२३ मा सत्तापलटपछि सत्तामा आएका नाइजरका सैन्य नेताले ठुलो सेनाको उपस्थिति कायम राखेका भएपनि तिलाबेरीमा जिहादी गतिविधि नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । गत हप्ता मात्रै यस क्षेत्रमा करिब २० सैनिक मारिएका थिए । ह्युमन राइट्स वाचले नाइजरका अधिकारीलाई नागरिकलाई जोगाउन ‘अझ बढी गर्न’ आग्रह गरेको छ ।  

अधिकार अनुगमन समूहका अनुसार मार्चदेखि इस्लामिक स्टेट समूहले पाँच आक्रमणमार्फत तिलाबेरीमा एक सय २७ भन्दा बढी गाउँले र मुस्लिम उपासकलाई ‘संक्षिप्त मृत्युदण्ड’ दिएको छ । यस्तै, विश्वव्यापी द्वन्द्व निगरानी संस्था एसिएलइडीले सन् २०२४ अक्टोबरयता नाइजरमा भएका आक्रमणमा करिब एक हजार आठ सय मानिस मारिएको जनाएको छ । 

यसको तीन चौथाइ तिलाबेरीमै भएको हो । नाइजर र छिमेकी बुर्किना फासो तथा माली, सबै सैन्य कू नेताको शासन अन्तर्गत छन् । यी देशले सार्वभौम नीति अपनाउने भन्दै जिहादीविरुद्ध संयुक्त रूपमा लडिरहेका फ्रान्सेली र अमेरिकी सेनालाई निष्कासन गरेका छन् । रासस/एएफपी