• १ असोज २०८२, बुधबार

जलवायु परिवर्तन नियन्त्रणका लागि इराकले लगानी बढाउँदै

blog

बगदाद, असोज १ गते । इराक सरकारले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्नका लागि सन् २०२५ देखि २०३० सम्म लागु हुने जलवायु लगानी योजना (सिआइपी)को पहिलो चरण घोषणा गरेको छ । 

यो घोषणा इराकी राष्ट्रिय लगानी आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा बग्दादमा आयोजना गरिएको कार्यशालामा मङ्गलबार गरेको हो । आयोगका अध्यक्ष हैदर मोहम्मद माकियाले उक्त योजना इराक सरकारले अघि सारेको एउटा दीर्घकालीन रणनीतिक परियोजना भएको बताउनुभएको छ । 

उहाँका अनुसार जलवायु परिवर्तनका असर इराकमा दिन प्रतिदिन गहिरिँदै गएका छन्, जसको प्रत्यक्ष प्रभाव पानी स्रोत, कृषि प्रणाली र प्राकृतिक वातावरणमा देखिन थालेको छ । उहाँले स्पष्ट पारेअनुसार योजना लागु गर्ने पहिलो चरणमा पाँच वटा प्रमुख क्षेत्रलाई प्राथमिकता दिइएको छ । 

ती क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, कृषि, उद्योग, जल स्रोत व्यवस्थापन तथा नवीनतम समाधान र प्रविधिको प्रयोग समावेश छन् । माकियाले यो योजना केवल एक सरकारी दस्तावेज मात्र नभएर सम्पूर्ण राष्ट्रको दीगो र सन्तुलित विकासलाई लक्षित गर्दै तयार पारिएको मार्गचित्र भएको बताउनुभयो । यस योजनाबाट इराकका सबै प्रान्त लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

इराकले जलवायु परिवर्तनका असरलाई दीर्घकालीन रूपमा नियन्त्रणमा लिन र देशको वातावरणीय अवस्थालाई सुदृढ बनाउने उद्देश्यका साथ यस योजनाको कार्यान्वयन अघि बढाएको हो । यो योजनाले वातावरणीय समस्या समाधान गर्नुका साथै आर्थिक विकास, स्रोत व्यवस्थापन र सामाजिक समावेशीतालाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा