चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर २१ गते । दुर्गम गाउँ त्रिपुरासुन्दरी गाउँपालिका–२ चोकटीस्थित बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निर्माण भएपछि त्यहाँका थामी समुदायसहित सबै नागरिकमा खुशी फर्किएको छ । उक्त वडामा थामी समुदायको बाहुल्य छ ।
उक्त गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले स्वास्थ्य चौकी उद्घाटन गर्नुभयो । थामी समुदायको बाहुल्य रहेको चोकटीमा यस अघि सुविधासम्पन्न बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी थिएन । त्यसकारण प्रसूति व्यथा लाग्ने बित्तिकै घण्टौं समय र धेरै खर्च गरेर बाह्रबिसे नगर अस्पताल र धुलिखेल अस्पताल धाउनुपर्ने बाध्यता थियो । गाउँमै बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निर्माण भएसँगै अब प्रसूति गर्न अन्यत्र जाँदाजाँदै बाटोमै आमा र शिशुको अवस्था जोखिम नहुने वडा अध्यक्ष रमेश राउतले जानकारी दिनुभयो ।
नेपाल सरकारको अनुदानबाट प्राप्त ३८ लाख ८६ हजार लागतमा चोकटीको बीच गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण भएको छ । स्वास्थ्य चौकी निर्माण भई प्रसूति सेवा र अरु उपचार सेवा दिनथालेपछि चोकटीका थामी र अन्य समुदायले उत्सव नै मनाउन थालेका छन् । उनीहरुले गाउँपालिका र जनप्रतिनिधिलाई दक्ष स्वास्थ्य जनशक्तिको माग पनि गरेका छन् । गाउँमै स्वास्थ्य चौकीबाट हजारौं स्थानीयले उपचार सेवा पाउनेछन् । अब कोही पनि वडाबासीले उपचार अभावमा ज्यान गुमाउन नपर्ने राउत बताउनुहुन्छ ।
घरआँगनमै स्वास्थ्य सेवा र प्रसूति सेवा पाउने भएपछि स्थानीयहरुमा हर्षको सीमा छैन । सामान्य रोगको उपचारका लागि दुई घण्टा बढी समय र पैसा खर्च गरेर बाह्रबिसे, धुलिखेल, राजधानीका अस्पताल धाउनुपर्ने समस्या हटेको वडा अध्यक्ष राउतले बताउनुभएको छ । पालिका अध्यक्ष बोहराले पालिकाको ६ वटै वडाका बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीमा दक्ष जनशक्ति, औषधी, एम्बुलेन्स सेवा उपलब्ध गराउन माथिल्लो सरकारलाई घच्घच्याइरहेको जानकारी दिनुभयो ।