राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर २१ गते । आन्तरिक राजस्व कार्यालय दाङको एक टोली रुकुमपश्चिम आइपुगेको छ । कर कार्यालयको टोली आउँदा यहाँका केही व्यापारीहरुले पसल बन्द गरेका छन् ।
बिहीबार मुसीकोट नगरपालिका ४ का सोलाबाङका केही व्यापारीहरुलाई जरिवाना र केही व्यापारीको कागजात नियन्त्रणमा लिएको टोली शुक्रबार आठबिसकोट पुगेको छ । आज बिहानैबाट आठबिसकोट नगरपालिका ९ को राडि बजारमा रहेका अधिकांश पसल बन्द भएको स्थानीयले बताएका छन् । करको टोली पुगेको खबरपछि प्रायः व्यापारीहरुले पसल बन्द गर्ने गरेको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार कारबाही तथा जरिवाना परिने डरले करको टोली आएको बेला केही व्यापारीहरुको भागाभाग हुने गरेको छ । अध्यक्ष खड्काले रित पूर्वक कारोबार नगरेका केही व्यवसायीहरुले डर मानेर व्यवसाय बन्द गर्नुभन्दा आवश्यक परामर्श लिने, कागजात राख्ने प्रक्रिया सिक्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ आठबिसकोटका अध्यक्ष दिनेश चन्दले करको टोली आएको खबरपछि व्यापारीहरुमा हाउगुजी हुने गरेकोले बन्द गरेको बताउनुभयो । सचेतना तथा नियमति अनुगमनमा आएको करको टोलीसँग व्यवसायीहरु डराउन नपर्ने उहाँको भनाइ छ । कर कार्यालयको टोलीसँगको सल्लाह बमोजिक आजै करसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न लगिएको चन्दले बताउनुभयो । बिहीबार मापदण्ड पूरा नगरेका केही व्यवसायीहरुलाई जरिवाना र कागजात जफत गरेको हल्ला सुनेपछि व्यापारीहरु डराएर पसल बन्द गरेको उहाँले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय दाङका प्रमुख श्रीधर टण्डनले चार जना कर अधिकृतसहितको टोली रुकुम गएको बताउनुभयो । उहाँले करसम्बन्धी सचेतना, अनुगमन तथा नियमनको क्रममा टोली फिल्डमा गएको जानकारी दिनुभयो । व्यापारीहरुले डराएर पसल बन्द गर्नुभन्दा पनि आवश्यक परामर्श दिने मौकाका रुपमा लिनुपर्ने उहाँको भनाइ छ । फिल्डबाट टोली फर्किएर प्रतिवेदन पेश गरेपछि मात्र कारबाही तथा जरिवानाको विवरण उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।