• २३ पुस २०८१, मङ्गलबार

आँखाको शल्यक्रियापछि वृद्धवृद्धा खुसी

blog

आँखाको शल्यक्रिया गरिएका बिरामी । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, मङ्सिर २१ गते  । रुकुमपश्चिमको चौरजहारीमा ११० जना आँखाका बिरामीको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । चौरजहारी अस्पतालमा दुई दिनसम्म चलेको निःशुल्क मोतीविन्दु शल्यक्रिया तथा आँखा उपचार शिविरमा आँखाको जाँच, औषधी वितरणका साथै आँखाको शल्यक्रिया गरिएको हो । 

चौरजहारी नगरपालिकाले मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको समन्वय, तिलगङ्गा आँखा प्रतिष्ठान ‘केयर ब्लाइन्डनेस’ परियोजनाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थामा मोतीविन्दु छनोट शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट मोतीविन्दु पत्ता लागेका बिरामीका लागि शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले दुई दिनसम्म चलेको शिविरबाट २७१ जना पुरुष र ३३९ महिला गरेर ६१० जनाको आँखा जाँच गरिएको र ११० जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख पुष्प बादीले चौरजहारी नगरपालिका मात्रै नभई रुकुमपश्चिमका अन्य पालिका, जाजरकोट र सल्यानका आँखाका बिरामीले समेत शिविरबाट सेवा लिएको बताउनुभयो । आर्थिक अभावले आँखाको उपचार गराउन नसकेका सर्वसाधारणलक्षित नगरपालिकाले शिविर सञ्चालन गरेको नगरप्रमुख बादीले जनाउनुभयो । शिविरबाट बढी मात्रामा ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।

एक सयभन्दा बढी व्यक्ति आँखा देख्ने भएर घर फर्केको र अन्यको स्वास्थ्य उपचारका लागि समेत स्थानीय तह गम्भीर भएर लागेको उहाँले दाबी गर्नुभयो । यसअघि नगरपालिकाले ज्येष्ठ नागरिक र विपन्न आर्थिक अवस्था भएका नगरवासीको स्वास्थ्य बिमा, द्वन्द्वपीडित परिवार तथा व्यक्तिको निशुल्क उपचार व्यवस्था, गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको छ ।