गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २३ गते । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भारतीय नागरिकले उपयोग गरिरहेको बारे सरकार जानकार रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री लेखकले विवाद सुल्झाउन कूटनीतिक रूपमा सरकारले प्रक्रिया अघि बढाएको बताउनुभयो । उक्त क्षेत्रमा एक सीमा स्तम्भसमेत राख्नुपर्ने भएकाले द्विपक्षीय सहमतिको प्रक्रिया जारी रहेको उहाँले जानकारी दिनुभयो ।
नेपालको हकभित्रको भूमि र सीमा रक्षार्थ सरकार प्रतिबद्ध रहेको समितिमा मन्त्री लेखकले जनाउनुभयो । उहाँले भन्नुभयो, “नेपाली भूमि भारतीय नागरिकले प्रयोग गरेकोमा सरकार जानकार छ । स्थानीय, राष्ट्रिय सञ्चार माध्यमसहित सरकारका संयन्त्रबाट पनि विषय जानकारीमा छ । यसबारे केही छलफल भएको छ । भारतीय नागरिकले खेतीपाती गरेका छन् । त्यो क्षेत्रमा सीमा विवाद होइन । त्यहाँ एउटा पिल्लर पनि राख्नुपर्ने छ, कूटनीतिक रूपमा प्रयास जारी छ । भूमि र सीमा रक्षार्थ सरकार लाग्छ । कूटनीतिक रूपमा विवाद समाधान हुन्छ ।”
निकुञ्जको झन्डै नौ सय बिघा जग्गा अनधिकृत रूपमा उपयोग भइरहेको विषयमा सञ्चार माध्यममा सार्वजनिक भएपछि समितिमा विषय प्रवेश भएको थियो । नेकपा (एमाले) का सांसद रघुजी पन्त र नेपाली कांग्रेसका दिलेन्द्र बडूले समितिमा विषय प्रवेश गराउनुभएको थियो । नेपालको स्वामित्वमा रहेको जग्गा भारतीय नागरिकले उपभोग गरेको विषयमा सरकारले गरेको कामकारबाहीको जानकारी पन्त र बडूले माग्नुभएको थियो ।
यस्तै समितिमा मन्त्री लेखकले पश्चिम नेपालको जाजरकोट र डोटीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको क्षतिको विस्तृत विवरण सङ्कलनसँगै पुनर्निर्माणको गति बढाउने गरी काम भइरहेको बताउनुभयो । उहाँले पुनर्निर्माणको मापदण्ड तयार भइसकेको र विपत् व्यवस्थापन प्राधिकरणको पुस २८ को बैठकले यसबारे निर्णय लिने बताउनुभयो ।
जाजरकोट केन्द्र भएको भूकम्पको पुनर्निर्माण मापदण्ड पारित भएको बताउनुभयो । डिटेल ड्यामेज एसेस्मेन्ट प्राप्त भएपछि पुनर्निर्माण अघि बढ्ने मन्त्री लेखकको भनाइ थियो । उहाँले कानुनी, प्रशासकीय र आर्थिक समस्याका कारण पुनर्निर्माणमा केही ढिलाइ भएको पनि समितिमा बताउनुभयो ।