• २३ पुस २०८१, मङ्गलबार

राराको दुर्दशा

पर्यटन सूचना केन्द्रमा कर्मचारी आवास

blog

कर्मचारीले आवासका रूपमा प्रयोग गर्दै आएको पर्यटक सूचना केन्द्र । तस्बिर : हरिकृष्ण ऐडी

मुगु समाचारदाता

मुगु, मङ्सिर २१ गते । पर्यटकलाई सूचना प्रवाह गर्नका लागि स्थापना गरिएको मुगुको हुटुमा स्थापित पर्यटक सूचना केन्द्रलाई रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारीले आवासका लागि प्रयोग गर्दै आएका छन् । पर्यटकीय गन्तव्य राराताल र मुगु जिल्लाभित्रका अरू पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले निकुञ्ज कार्यालयले  मुगुको हुटुमा स्थापना गरेको पर्यटन सूचना केन्द्र आठ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । बरु यो सूचना केन्द्र कर्मचारीको आवासका रूपमा परिणत भएको छ । 

रारा राष्ट्रिय निकुञ्ज कार्यालयको कार्यविधि अनुसार रारा आउने पर्यटकले सहजै सूचना पाउने उद्देश्यले २०७२ सालको मङ्सिरमा स्थापना भएको पर्यटक सूचना केन्द्र आन्तरिक व्यवस्थापनका कारणले सञ्चालनमा ढिलाइ भएको निकुञ्जको कार्यालयले जनाएको छ । रारा राष्ट्रिय निकुञ्जका कार्यालय निमित्त प्रमुख महेश न्यौपानेका अनुसार पर्यटन सूचना केन्द्र प्रयोगमा नआएको हुनाले कोठाको अभावले गर्दा कर्मचारीलाई व्यवस्थापन गर्न उक्त भवन आवासका लागि प्रयोग गरिएको बताउनुभयो ।

छायानाथ रारा नगरपालिका–९ का रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रका पूर्वअध्यक्ष बिर्खबहादुर रोकायाका अनुसार हुटुमा सूचना भवन बनेको आठ वर्ष बिते पनि पर्यटन सूचना केन्द्र सञ्चालनमा आउन सकेको छैन । रारातालमा शैक्षिक भ्रमण गर्न आउने विद्यार्थी र  आन्तरिक तथा बाह्य पर्यटकलाई अध्ययनका लागि सूचना केन्द्र सञ्चालनमा नआउँदा पर्यटकले राराताल र जिल्लाबारे अध्ययन गर्न नपाएकोे पटक पटक गुनासो आउने गरेको उहाँले बताउनुभयो । यथासक्दो पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउनलाई निकुञ्ज कार्यालयलाई पटक पटक मौखिक रूपमा सुझाव दिइएको पनि उहाँले बताउनुभयो ।

जुम्लाको पातारासी गाउँपालिका–५ का बालकृष्ण रोकायाले रारातालमा पर्यटन सूचना केन्द्र नहुँदा शैक्षिक भ्रमणमा आएका विद्यार्थीले राराताल आसपासमा पाइने वनस्पतिका प्रजाति, चराचुरुङ्गी तथा धार्मिक स्थलबारे सामान्य जानकारी पनि पाउन नसकेको बताउनुभयो ।