• २३ पुस २०८१, मङ्गलबार

ओझेलमा सीमानाकाको लिस्ती माई

blog

चित्र मिजार

सिन्धुपाल्चोक, मङ्सिर २१ गते । सिन्धुपाल्चोकमा अवस्थित थुप्रै देवीदेवताका प्रसिद्ध मठमन्दिरमध्ये नेपाल–चीनबिचको सिमाना भोटेकोशी गाउँपालिका–१, लिस्तीकोटमा रहेका उग्रचण्डी लिस्ती माई मन्दिर प्रचारप्रसारको कमीले ओझेलमा परेको छ । 

उक्त मन्दिरको संरक्षणका लागि गठित लिस्ती माई गुठी सेवा समितिले मन्दिर र उग्रचण्डी माईको प्रचारप्रसारमा केही समययता अभियान नै सञ्चालन गरेको छ । उक्त मन्दिरमा दर्शन गरेर भक्तिभावले जसले जे माग्छ, सो पूरा हुने जनविश्वास रहेको गुठी सेवा समितिका अध्यक्ष चमेरे प्रधानले जानकारी दिनुभयो । सो मन्दिरमा विसं ८४९ को शिलालेख रहेको छ । त्यसपछि १८०० र १९९२ सालका विभिन्न दस्ताबेज भेटिएका छन् । मन्दिर प्राङ्गणमा नेपाल–तिब्बतबिचको युद्धकालका स्तम्भसमेत छ । एकीकरणपूर्व लिस्तीकोट छुट्टै राज्य रहेको दस्ताबेज भेटिएको अध्यक्ष प्रधानले बताउनुभएको छ । 

बर्सौंदेखि नेपाली सेनाले उक्त मन्दिरमा बडादसैँ र चैतेदसैँमा सरकारी पूजामेला गरेर सलामी दिँदै आएको छ । सो मन्दिरमा गाउँभरिका लागि जमरा राख्ने चलन छ । बडादसैँमा नेपाली सेनाले सलामी दिँदा गरिएको पूजाआजाको प्रसाद राष्ट्रप्रमुखसमक्ष पु-याइँदै आएको पुजारीले बताउनुभयो । पूर्वी क्षेत्रको दक्षिण भेगमा उग्रचण्डी भगवती माई लिस्ती माईका सात दिदीबहिनी रहेको जनविश्वास छ । जसमा कालिञ्चोक माई, पलाञ्चोक माई, तलेजु भगवती, शोभा भगवती, त्रिपुरासुन्दरी माई र पाल्चोकी माई लिस्ती माईका सात दिदीबहिनी रहेको किंवदन्ती छ ।

शताब्दीऔँ पूरानो उग्रचण्डी मन्दिर परापूर्वकालमा कुशको छानोमा रहेको भनाइ छ । आगलागीपछि ढुङ्गाको छानो र त्यसपछि जस्तापाताको छानोमा मन्दिर अवस्थित थियो । अहिले आरसिसी ढलानले सो मन्दिर ठडिएको छ । सामाजिक अगुवा साङ्बो शेर्पाको सक्रियतामा २०५६ सालमा स्थानीयबाट जनश्रमदान र आर्थिक सहयोग सङ्कलन गरेर २० लाख रुपियाँको लागतमा उक्त मन्दिर कङ्व्रिmटको स्वरूपमा ठडिएको अध्यक्ष प्रधान बताउनुहुन्छ । 

नेपाल–तिब्बत युद्धको सम्झनामा नेपाली सेनाले हरेक वर्ष लिस्तीकोट–दुगुनागढी म्याराथुन प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । स्थानीय सरकार, धार्मिक आस्था र विश्वास बोकेका सङ्घ संस्थालगायतले मन्दिरको स्तरोन्नति र प्रचारप्रसार गर्नसके लिस्तीकोट धार्मिक केन्द्र बन्ने स्थानीयको भनाइ छ ।