इमानसिं राना
रामपुर (पाल्पा), मंसिर २० गते । जिल्लाको रामपुर नगरपालिका भित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरिएको छ । ११ औं विश्व माटो दिवसको अवसरमा कृषकको खेतबारीको माटोको नमुना संकलन गरी विहीबार परीक्षण गरिएको हो ।
४० स्थानको माटो नमुना परीक्षणको क्रममा पिएचमान तटस्थ रहेको पाइएको छ । कृषि ज्ञान केन्द्र तानसेन पाल्पाका नायव प्रविधिक सहायक रविन बुढाले रामपुर नगरभित्रको माटो परीक्षणको क्रममा पिएचमान तटस्थ रहेको पाईएको जानकारी दिनुभयो । परीक्षण गरिएको अधिकांश नमुनामा खेतीको लागि आवश्यक नाईट्रोजनको मात्रा रहेको पाईए पनि फस्फोरस र पोटासको मात्रा कम देखिएको बताउनुभयो ।
‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका रामपुर नगरपालिका परिसरमा भएको शिविर कृषि ज्ञान केन्द्र तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा भएको थियो । कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले कार्यक्रममा माटोको उपचार विधिबारे जानकारी दिदै रसायनिक मलको असन्तुलित प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोगले माटोको गुणस्तर कमजोर हुँदै गएको बताउनुभयो । उत्पादनका लागि लागि प्राङ्गारिक पदार्थको पनि आवश्यक रहने भए पनि त्यसतर्फ ध्यान नदिदा समस्याहरु आउने गरेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्रले माटो व्यवस्थापन कार्यक्रम अन्तर्गत स्थानीय तहसँग समन्वय गरेर शिविर सञ्चालनसँगै कार्यालयको प्रयोगशालाबाट माटो परीक्षण सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले नगरपालिका भित्रबाट ८२ वटा नमुना संकलन गरिएकोमा शिविर स्थलमै ४० वटा नमुना परीक्षण गरिएको र बाँकी कृषि ज्ञान केन्द्रको प्रयोशालामा परीक्षण हुने जानकारी दिनुभयो । रिपोर्ट आएपछि नगरपालिकाले माटो उपचारका कृषकलाई आवश्यक कृषि चुन, धाईचा वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।