सिराज खान
नेपालगन्ज, मङ्सिर २० गते । राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण आगामी पुस ६ गते नेपालगन्जमा गर्ने तयारी गरिएको छ । नेपालगन्ज साइक्लिङ् क्लबले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गर्दैआएको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण प्रतियोगिताको मिति घोषणा गर्दै क्लबका अध्यक्ष प्रदीप सापकोटाले खेलाडीलाई दर्ता गराउन अनुरोध गर्नुभएको छ ।
प्रतियोगिता आयोजक नेपालगन्ज साइक्लिङ् क्लबले दिएको जानकारीअनुसार, मङ्सिर ३० गतेसम्म नाम दर्ता गरिसक्ने खेलाडीहरू एमटीबी पुरुषतर्फ खुल्ला ३६ किलोमिटर, पुरुष मास्टर्स खुल्ला २५ किलोमिटरका लागि सहभागी हुन सक्नेछन् ।
त्यस्तै, साधारण साइकल पुरुषतर्फ २२ किलोमिटर र साधारण साइकल महिला १६ किलोमिटरतर्फका खेलाडी बाँकेबाट मात्र सहभागी हुने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै, २० वर्ष उमेर समूहका विद्यार्थीका लागि एमटीबी स्कुलस्तरीय १६ किलोमिटर साइकल दौड प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यार्थी मात्र सहभागिता जनाउने व्यवस्था मिलाइएको छ ।
मेयर कपको सातौं संस्करणलाई भव्य बनाउन तयारीका आवश्यक काम अगाडि बढाइएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज साइक्लिङ् क्लबसँगको सहकार्यमा यो प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउँदै अघि बढाउने बताउनुभयो ।