सच्चा र असल मित्र आफैँ मात्र एक्लै अगाडि बढ्न चाहँदैन । उसले आफूसँगै मित्र तथा छरछिमेकलाई आफ्नो सुखद यात्रामा जोड्न चाहन्छ । उत्तरी छिमेकी चीनले यताका दशकमा गरेको चामत्कारिक विकास कठिन मेहनतको प्रतिफल हो । शान्तिपूर्ण उदयमा चीनको आफ्नै विकास मोडल छ । विश्वका कतिपय मुलुकले औपनिवेशिक कालक्रममा समृद्धिको यात्रा तय गरे पनि चीनले आफ्नै बल र स्वदेशी भूमिबाटै समृद्धि हासिल गरिरहेको छ । असल छिमेकीका नाताले नेपालका निम्ति चीनको समृद्धि खुसीको विषय हो । चीनले सच्चा मित्र तथा छिमेकीलाई पनि सहयोग र साथ लिएर अगाडि बढ्न नयाँ युगमा साझा भविष्यको मार्गचित्रलाई कार्यरूप दिइरहेको छ । दुवै मुलुकबिचको उच्चस्तरीय भ्रमण आदानप्रदान तथा समझदारीले आगामी यात्रालाई अझ सहज बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको यो पटकको चीन भ्रमण नेपालको समृद्धि यात्रामा अझ महत्वपूर्ण भएको छ । उच्चस्तरीय भेटवार्ता, सहमति र समझदारी नेपालको समृद्धि हासिल गर्न दूरगामी महत्वका बनेका छन् । त्यस क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग मङ्गलबार भएको उच्चस्तरीय भेटवार्ता ऐतिहासिक बन्न पुग्यो । भेटवार्तामा राष्ट्रपति सीले समृद्ध नेपालको निर्माणमा चीनले नेपाललाई साथ दिने प्रतिबद्धता जनाउनुभयो । यो भेटवार्ता कूटनीतिक उच्चताको अनुपम नमुना थियो । उहाँहरूबिच दुई देशको छिमेकी सम्बन्ध, आपसी हित तथा विकास साझेदारीका विषयमा गहन विमर्श साझा भविष्यको मार्गचित्रसमेत हो ।
भेटवार्तामा राष्ट्रपति सीले प्रधानमन्त्री ओलीको प्रशंसा गर्नु अघिल्ला भ्रमणको निरन्तरता र प्रतिफल हो । लामो समयदेखि दुई देशबिचको मित्रताको प्रवर्धन गर्न प्रधानमन्त्री ओलीको दृढ प्रतिबद्धताको प्रशंसामा उहाँले इतिहास र भूगोलका विषय जोड्नु अति महìवपूर्ण छ । राष्ट्रपति सीले भन्नुभयो, “एउटै हिमाल र नदीले जोडिएका चीन र नेपाल असल छिमेकी, असल मित्र र असल साझेदार भएकाले द्विपक्षीय सम्बन्ध स्थिर विकासका साथ सुमधुर रहेको छ ।” यसले द्विपक्षीय सम्बन्धमा आगामी दिनमा नयाँ आयाम थप्ने छ । आगामी वर्ष नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाइने भएको छ । परम्परागत मित्रतालाई सुदृढ गर्दै चीनसँगै समृद्धिको यात्रामा नेपाललाई अगाडि बढाउन रणनीतिक साझेदारीका साथ अघि बढ्न चीन इच्छुक रहेको राष्ट्रपति सीका भनाइ नेपालको विकासयात्रामा दूरगामी महìवको छ । भेटवार्ताका क्रममै राष्ट्रपतिबाट भएको पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब नेपाली रुपियाँ अनुदान दिने घोषणा विशिष्ट छ ।
उच्चस्तरीय भेटवार्ताकै क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबिच दुई देशबिचको सम्बन्ध अझ उचाइमा लैजान आपसी सहकार्यलाई बलियो बनाउने सहमति भएको छ । चीनले नयाँ युगमा एसिया, युरोप, अफ्रिकालगायतलाई स्थल तथा जलमार्गबाट जोड्दै लगानी बढाउन अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अब नेपालको समृद्धिमा सहयोगी हुने छ । नेपाल र चीनबिच बिआरआई सहकार्यको फ्रेमवर्कमा बुधबार सम्झौता भएपछि सहकार्यको नयाँ मार्ग खुलेको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष ली सुसेले हस्ताक्षर गर्नुभएको छ । नेपाल र चीनबिच नौ वटा सहमति र समझदारी भएका छन् ।
नेपालको पूर्वाधार विकाससँगै आर्थिक तथा सामाजिक विकासमा सबै सम्झौता महत्वपूर्ण छन् । नयाँ समझदारी तथा सम्झौतामा टोखा–छहरे सुरुङमार्ग, व्यापार आदानप्रदान, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी छन् । त्यसै गरी नेपालबाट भैँसीको प्रशोधित मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, विकास आयोजनासम्बन्धी महìवपूर्ण समझदारी, चीनले प्रदान गर्ने नगद अनुदानसम्बन्धी समझदारी, नेपालमा चिनियाँ भाषासम्बन्धी स्वयंसेवी शिक्षक पठाउने र नेपाल टेलिभिजन र चाइना मिडिया गु्रपबिच सञ्चार प्रविधिसम्बन्धी सम्झौतालगायत छन् । नेपाल र चीनबिच विगतमा पनि आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका सम्बन्धमा अनेक सहमति र सम्झौता भएका छन् । कतिपय समझदारी र सम्झौता समयमा कार्यान्वयन नभएकोप्रति चीनले चासो देखाउँदै आएको छ । राजनीतिक अस्थिरताले सरकार फेरबदल भइरहने, प्रशासनिक उल्झन आदिले समयमा काम नहुने प्रवृत्ति पनि देख्न सकिन्छ । राजधानीको चक्रपथ विस्तारमा सडक वरपरका संरचना खाली गराउन नसक्दा विस्तारमा बर्सौँ लागेको छ । विगतका कमीकमजोरी सुधार गर्दै समझदारी तथा सम्झौता भएका परियोजनालाई प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु जरुरी छ । यसले सच्चा मित्रसँगको साथलाई अझ दरिलो र घनिष्ठ बनाउने छ ।