प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर २० गते । देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । सरकारले महिला माथि हुने सबै खाले हिंसा विभेद, दुर्व्यवहार अन्त्यका लागि मङ्सिर १० देखि २५ गतेसम्म हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको अभियान चलाउँदै आएको छ ।
अभियानमा महिला अधिकारका सवालमा छलफल हुनुका साथै विभिन्न जनचेतना मुलक कार्यक्रम समेत गर्ने गरिएको छ । अभियानकै क्रममा जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा सबै खाले हिंसाविरुद्ध गाउँपालिकाको भूमिका विषयक सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
आयोजित कार्यक्रममा बोल्नुहुँदै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले लैङ्गिक हिंसा र बालबिवाहविरुद्ध तत्काल नीति बनाएर कार्यन्वयनमा लैजाने बताउनुभयो ।
उहाँले अब दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमले मात्र हिंसा अन्त्य गर्न नसकिने हुँदा तत्काल नीति बनाएर हिंसा निम्ताउने बालबिवाह लगायतका कुरितीका विषयलाई समेट्ने तयार भएको बताउनुभयो ।
अध्यक्ष चौलागाईले संघ सरकारको नीति अनिवार्य कार्यान्वयन गरे जस्तो गरेर विभिन्न कार्यक्रम गरे जस्तो अब तातोपानीमा नहुँने भन्दै तत्काल नीति बनाएर सबै खाले हिंसा दुर्व्यवहार, कुरिती जस्ता समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका उपाध्यक्ष रेवती रावलले महिला जागरुक नहुँदासम्म हिंसा कायमै रहने भएकाले आफु माथि आई परेका समस्या ल्याएर सरकारसमक्ष गुनासो गर्न अपिल गर्नुभयो ।
जानकारी नभएर समस्या पहिचान नहुँने हुँदा आफु माथि घरेलु वा जुनसुकै हिंसा दुर्व्यवहार भएको छ भने सरकारसमक्ष पुग्न महिला तथा किशोरीलाई सुझाव दिनुभयो ।
महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको संवाद कार्यक्रममा शाखा प्रमुख शान्ती भक्रीले यसरी सञ्चालन हुने संवाद कार्यक्रममा आफ्ना गुनासो राख्न सकेमा पीडक पक्ष सचेत भए हिंसा तथा दुर्व्यवहार घट्ने बताउनुभयो ।
सेभःद चिल्डेन किर्डाक नेपाल सहयात्रा परियोजना गाउँपालिकाको सहयोगमा तातोपानी गाउँपालिकामा विभिन्न सचेतीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
कार्यक्रमका सहभागीले आफुले पुरुष बराबर काम गर्न सक्ने भए पनि समान ज्याला नपाएको, परम्परादेखि महिलालाई जटिल काम गर्नु पर्ने प्रथा कायमै रहेको लगायतका गुनासो राखेका थिए । गाउँपालिकाले सबै समस्याको समाधान गर्नका लागि मौखिक भनेर नहुँने हुँदा नीति ल्याएर प्रक्रियामा जाने जनाएको छ । नेपाल सरकारको २०७५ साल कात्तिक २९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार हरेक वर्ष देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइँदै आएको छ ।
सनु १९९५ मा डोमिनकन गणराज्य तथा अन्य ७४ सदस्य राष्टले नोभेम्वर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मुलन दिवस मनाउन सयुक्त राष्टङ्संघमा पेस गरेको प्रस्ताव पारित भएसँगै यो दिवस मनाउन सुरु भएको हो ।