अनिल पराजुली
हेटौँडा, मङ्सिर २० गते । बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखिएको छ । हेटौँडाको औद्योगिक क्षेत्रमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या पाएको हो ।
प्रदेशमा माटो परीक्षणमा करिब ८० प्रतिशत माटोमा अम्लीयपनाको समस्या देखिएको माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाका कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनुभयो । प्रदेशमा माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो चट्टान बन्ने प्रक्रिया र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनुभयो ।
कृषिचुनको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले ५० प्रतिशत माटोमा भएको प्राङ्गारिक पदार्थको कमी माटोको दोस्रो ठुलो समस्याका रूपमा रहेकाले गुणस्तरयुक्त प्राङ्गारिक पदार्थको उत्पादन गर्न भकारो सुधार, गहुँतको संरक्षण र सदुपयोग र प्रयोग हुनुपर्नेमा जोड दिनुभयो ।
असन्तुलित रासायनिक मलखादको प्रयोग, परिवर्तित बाली चक्रको अनुसरण र विभिन्न रसायनयुक्त प्रयोगले माटोमा भएको सूक्ष्म जीवाणुको सङ्ख्या न्यून हुँदै माटो मृत अवस्थामा पुग्ने बताउँदै माटोमा सूक्ष्म जीवाणुमलको प्रयोग तेस्रो महत्वपूर्ण विषयका रूपमा रहेको उहाँको भनाइ छ ।
काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उहाँले बताउनुभयो । माटो तथा मल परीक्षण प्रयोगशाला, बागमती प्रदेशले विगत चार वर्षको अवधिमा गरेको माटो परीक्षणबाट उच्च अम्लीयपना देखिएको हो । प्रदेशको २० लाख ३० हजार हेक्टर कुल क्षेत्रफलमध्ये तीन लाख २८ हजार २९७ हेक्टर अर्थात् १६.१७ प्रतिशत भूभाग जमिन खेतीयोग्य छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अनुसार जसमा दुई लाख ८९ हजार ६६२ हेक्टर जग्गामा खेती गरिएको छ । यहाँको उर्वरा जमिनमा अम्लीयपना हरेक वर्ष ८० प्रतिशतको दरमा देखिएको हो ।
गाईवस्तुको मलमा कमी आउनु, झार माटोमै कुहाउन छोड्नु, भाडामा जग्गा लिनेले गाईवस्तुको मल नहाल्नुले माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको प्रयोगशाला प्रमुख डा. खड्का बताउनुहुन्छ । माटोमा पाइने नाइट्रोजन, पोटास र फस्फोरसको मात्रा भने स्थिर देखिएको छ । खाद्य तìव फस्फोरस र पोटासको मात्रा ३० प्रतिशत कमी देखिएको भन्दै खड्काले समस्या नभएको बताउनुभयो । राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ्क अनुसार प्रदेशका अधिकांश कृषकले माटो परीक्षण नगराएको देखिन्छ । बागमती प्रदेशको कुल कृषक परिवार सङ्ख्याको तीन प्रतिशत अर्थात् एक लाख छ हजार कृषक परिवारले मात्रै माटो परीक्षण गराएका छन्् ।
कृषिचुन वितरण गरिने
माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाले ‘माटोको सुधार परीक्षण, रेखदेख र उपचार’ भन्ने मूल नारासाथ बिहीबार ११ औँ ‘विश्व माटो दिवस २०२४’ मनाउने भएको छ । कृषि विकास कार्यालय नुवाकोट र विदुर नगरपालिकाको संयुक्त आयोजनामा माटो दिवस कार्यक्रम गर्न लागिएको हो ।
विदुर नगरपालिकाको विभिन्न वडाबाट सङ्कलित एक हजार ५६ थान माटोको नमुना घुम्ती माटो परीक्षण प्रयोगशालामार्फत परीक्षण गरी परीक्षणको नतिजा अनुसार कृषकलाई २० मेट्रिक टन कृषिचुन निःशुल्क वितरण गरी माटो दिवस मनाउन लागिएको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौँडाका कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो ।
माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, माटो र पानीको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सव्रिmय सुधारका लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने, जनचेतना फैलाउने उद्देश्यले कार्यव्रmम गर्न लागिएको उहाँले बताउनुभयो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।