• ७ पुस २०८१, आइतबार

दूरगामी महत्वको भ्रमण

blog

प्राचीनकालदेखि नेपाल र चीनबिच प्रगाढ सम्बन्ध रहँदै आएको छ । उत्तरी छिमेकी चीन विश्व समुदायमा सहअस्तित्व तथा भ्रातृत्वमा विश्वास गर्दै समृद्धि यात्रामा गतिशील छ । केही वर्षअघि नै जापानलाई पछाडि पार्दै विश्वकै दोस्रो अर्थतन्त्र बन्न सफल चीन उच्च आर्थिक वृद्धिका साथ पहिलो अर्थतन्त्र बन्न अग्रसर छ । बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई) परियोजना अघि सारेर चीनले विश्वलाई नै आकर्षित गर्दै छ । स्थल तथा जलमार्गबाट चीनलाई एसियाका बाँकी मुलुकसँगै युरोप तथा अफ्रिकालगायतलाई जोड्दै नयाँ आर्थिक युग परिकल्पनालाई साकार पार्ने परियोजना कार्यान्वयनले दुनियालाई चकित पार्दै छ । यस्तो तिलस्मी प्रगतिको शिखर चढ्दै गएको उत्तरी छिमेकी मुलुकले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ । नेपालको विकास आकाङ्क्षा उडानमा स्वप्नशील प्रधानमन्त्री केपी शर्मा ओली चारदिने महत्वपूर्ण भ्रमणका निम्ति सोमबार बेइजिङ पुगेर दुई देशको ऐतिहासिक सम्बन्धमा नयाँ आयाम थप्दै हुनुहुन्छ ।


नेपालले यो उच्चस्तरीय भ्रमणका निम्ति व्यापक तयारी गरेको छ । प्रधानमन्त्री ओली आफैँ अग्रसर भएर सबै दलका नेता, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, कूटनीतिक जानकार तथा विज्ञसँग आरम्भमै चीन भ्रमणबारे विस्तृत विमर्श गर्नुभयो, सुझाव लिनुभयो । तयारीकै क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा प्रधानमन्त्रीको औपचारिक भ्रमण सफल बनाउन चीन पुग्नुभयो । चिनियाँ समकक्षी वाङ यीसँग महत्वपूर्ण भेटवार्ता गरी स्वदेश फर्केर उहाँले नेपाल चीनबिचको सहयोग र सम्बन्धको नयाँ आयाम दस्ताबेजीकरण गर्न सहयोग पुर्‍याउनुभयो । त्यसबिच दुई ठुला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को वर्तमान सरकारले दलीय तहमा समेत देशको बाह्य नीतिमा साझा धारणा बनाउन गहन गृहकार्य गर्‍यो । त्यसक्रममा नेपाल–चीन सहयोग तथा सम्बन्धलाई धरातलीय यथार्थ अनुरूप बनाउने प्रयत्न गरियो । प्राप्त सबै सारलाई मन्त्रीपरिषद्बाट पारित गराई प्रधानमन्त्रीले यो भ्रमणलाई दूरगामी महìवको बनाउने तयारीलाई व्यापक बनाउनुभयो ।


चार दिन (मङ्सिर १७–२०) चीनमा रहँदा प्रधानमन्त्री ओली अति व्यस्त रहनुहुने छ । चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा भएको यो औपचारिक भ्रमणले उच्चस्तरीय भेटवार्तासँगै सहयोगका धेरै क्षेत्रलाई समेट्ने छ । चीनका राष्ट्रपति सी चिनफिङसँग हुने भेटवार्ताले नयाँ युगमा दुईपक्षीय सम्बन्धका आयाम फराकिलो पार्ने विश्वास गरिएको छ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच हुने भेटवार्ता नेपालको आर्थिक विकासका निम्ति महत्वपूर्ण हुने छ । खास गरी नेपालको पूर्वाधार विकासमा यो भ्रमण महत्वपूर्ण र दूरगामी महत्वको हुने विश्वास छ । टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना अगाडि बढाउन यो उच्चस्तरीय भ्रमण फलदायी हुने विश्वास गरिएको छ ।


प्रधानमन्त्रीको भ्रमणअघि बिआरआई परियोजनामा ऋण वा अनुदान भन्ने विषयले धेरै चर्चा पायो । यो विषय कूटनीतिक तवरमा समेत राम्ररी गृहकार्य गरी टुङ्गो लाग्ने दिशामा छ । भ्रमणका क्रममा बिआरआई कार्यान्वयन योजनामा केही संशोधनसहित हस्ताक्षर गर्ने नेपालको तयारीमा चीन सकारात्मक हुने विश्वास छ । चीनले प्रस्ताव गरेको बिआरआई कार्यान्वयन योजनामा नेपालले राम्ररी तयारी गरेकाले दुवै देशको सहमतिमा परियोजना अगाडि बढ्न अवरोध हुने छैन । दुई देशबिच आपसी हित, विकास साझेदारीका साथै भावी सहकार्यमा भ्रमणले ऐतिहासिक मार्गनिर्देश गर्ने छ ।


नेपाल विशाल चीनको असल छिमेकी मुलुक रहँदै आएको छ । नेपालले अटल रूपमा एक चीन नीति अवलम्बन गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको पाँच स्थायी सदस्यमध्ये एक चीन विशाल भूगोल र जनसङ्ख्या भएको मुलुक मात्र होइन, यसले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति र सहअस्तित्वका निम्ति महìवपूर्ण योगदान पुर्‍याउँदै आएको छ । विश्व शान्ति, सहअस्तित्व, विकास र प्रगतिमा नेपाल र चीनबिच अन्तर्राष्ट्रिय मञ्चमा समान दृष्टिकोण रहँदै आएको छ । छिमेकी मुलुक नेपालको समृद्ध सपना साकार हुँदा विश्वको पहिलो अर्थतन्त्रतर्फ अग्रसर चीनलाई आफ्नो लक्ष्यमा पुग्न अझ सहज हुने छ । हिमाली तथा पहाडी भूबनोटले नेपालको पूर्वाधार विकासमा चुनौती रहेकोप्रति चीन सुपरिचितसमेत छ । पूर्वाधार, जलविद्युत्, पर्यटन, कृषि, व्यापार घाटा कम गर्नेलगायतका क्षेत्रमा चीनले पुर्‍याउने सहयोगको नयाँ संस्करणले नवीन सन्दर्भमा अझ ठुलो महìव राख्ने छ । प्रधानमन्त्रीको यो उच्चस्तरीय भ्रमणले दुवै देशबिचको प्रगाढ सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।