सलिम मियाँ
बिजुवार, जेठ ४ गते । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू अहिले गाउँमै अटो रिक्साको व्यवसायमा लाग्न थालेका छन् । पछिल्ला वर्षहरूमा आन्तरिक सडक विस्तारसँगै तीन पाङ्ग्रे अटो ग्रामीण क्षेत्रमा उपयुक्त र स्थायी आम्दानीको माध्यम बन्न थालेका छन् ।
प्यूठानको सरुमारानी–३ भकुण्डेका मेकबहादुर सोमै खाडी मुलुकमा चार वर्ष काम गरेर फर्किएपछि कुखुरा पालन र होटल व्यवसाय सुरु गर्नुभयो तर सफल हुन सक्नुभएन । पछि गाउँमा सडक विस्तार हुँदै गएको देखेर उहाँले सात लाख रुपियाँ लगानीमा अटो खरिद गर्नुभयो ।
अहिले उहाँको परिवारको खर्च, दुई छोराको काठमाडौंको पढाइ र दुईतले पक्की घरको निर्माणसमेत अटोकै आम्दानीबाट चलिरहेको छ । “सिजनमा ५० हजारसम्म कमाइ हुन्छ, ३०–३५ हजार बचत हुन्छ,” सोमैले बताउनुभयो।
सरुमारानी–३ डाँडाबारीका ३१ वर्षीय टंकेश्वर विश्वकर्माले पनि झण्डै पाँच वर्ष साउदी अरेबियामा पसिना बगाउनुभयो । साढे तीन वर्षअघि सात लाख रुपियाँ किस्ताबन्दीमा अटो किनेपछि उहाँलाई वैदेशिक कमाइ सम्झनु परेको छैन । अहिले आफ्नै गाउँमा अटो चलाउँदै परिवार पाल्नुभएको छ । उहाँले भन्नुभयो, “अहिलेको मुख्य पेसा यही हो ।”
उहाँकाअनुसार अटो सस्तो, सहज र सुलभ सार्वजनिक यातायातको रुपमा स्थापित भएको छ । सरुमा रानीमा सञ्चालित ४० अटोमध्ये २५ वटा वैदेशिक रोजगारीबाट फर्किएकाहरूले चलाएका छन् । दुई–तीन लाख रुपियाँ दिएर बाँकी किस्ताबन्दीमा किन्न सकिने भएकाले युवाहरू अटोमा आकर्षित भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका अनुसार हाल जिल्लामा १३० अटो रिक्सा सञ्चालनमा छन् । दुर्गम ठाउँसम्म सजिलै पुग्ने, थोरै यात्रुमा पनि चल्न सक्ने र दुर्घटना बीमाको व्यवस्था भएकाले गाउँघरमा अटो लोकप्रिय बन्दै गएको छ ।