गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १८ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सोमबार ‘प्राज्ञिक भेला २०८१’ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै प्राज्ञले राष्ट्रलाई सही बाटोमा लान सहयोग पु¥याउनुपर्ने बताउनुभयो । प्राज्ञहरूले देशको ‘थिङ्कट्याङ्क’ का रूपमा काम गर्नुपर्ने बताउँदै उहाँले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा–प्रतिष्ठानबिच एक रूपता हुनुपर्ने बताउँदै तिनले गर्ने कार्यको सीमाङ्कन हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री पाण्डेले भेलाले निकालेको निष्कर्षको कार्यान्वयन हुनुपर्ने बताउँदै प्राज्ञिक जगत्ले देश र समाजको हितका लागि चेतनाको निर्माण, नैतिक मूल्यमान्यताको विकासलगायतमा समाजलाई मार्गनिर्देश गर्ने धारणा राख्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भेलाले सामाजिक रूपान्तरणमा कला, संस्कृतिलाई कसरी जोड्ने भन्ने विषयलाई उठाएको बताउनुभयो । उहाँले भेलामा कला, साहित्य, संस्कृति, गीत, सङ्गीतलगायतका समाजसँग जोडिने विषय लोक, भोक र सोखमा आधारित रहेर विशेष छलफल भएको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक बहसले मुलुकको ‘सफ्टपावर’ निर्माण गर्ने बताउनुभयो । उहाँले भेलाले प्रज्ञा–प्रतिष्ठान र विचार, प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा प्रज्ञा–प्रतिष्ठान र ज्ञानमा आधारित भएर छलफल भएको बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा–प्रतिष्ठानबिच निरन्तरको समन्वय र सहकार्यले परिणाम दिने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एकीकृत योजना बनाएर प्रभावकारी ढङ्गले योजना कार्यान्वयन गर्नका लागि भेला हुनुभएका सम्पूर्णलाई स्वागत गर्नुभयो । सो सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुस्मा महरा ‘प्रगति’ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले आफूले नेतृत्व लिएका प्रतिष्ठानका विविध विषय, आगामी योजना, कार्यक्रम, प्रदेश तथा पालिकास्तरमा गठन गरिएका प्रज्ञा–प्रतिष्ठानबिच एकरूपतालगायतका विविध विषयमा चर्चा गर्नुभएको थियो । भाषा आयोगका सदस्य डा. पुस्करराज भट्टले नेपालका विभिन्न लोपोन्मुख भाषा, संस्कृतिको संरक्षणमा आयोगले काम गर्दै आएको बताउँदै उहाँले भेलाले निर्णय गरेको सम्बन्धित क्षेत्रमा आयोगले सहकार्य गर्ने बताउनुभयो ।
पर्यटन मन्त्रालयको संस्कृति महाशाखा अन्तर्गतको संस्कृति शाखाका उपसचिव शिवराज रेग्मीले संस्कृति नीति, सङ्ग्रहालय ऐन, प्रतिलिपि ऐन, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण तथा व्यवस्थापन ऐन, प्राचीन स्मारक संरक्षण ऐनका बारेमा चर्चा गर्नुभयो ।
समारोहमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपसचिव कृष्णप्रसाद भट्टराई, गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले पनि धारणा राख्नुभएको थियो । भेलाले सातबुँदे घोषणापत्र जारी गरेको छ ।