• ८ पुस २०८१, सोमबार

ट्रक कला र साहित्यबारे अन्तर्क्रिया

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार फोटोग्राफर सुदर्शन कार्कीसँग अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यक्रममा विशेषतः ट्रक आर्ट तथा साहित्यलाई जोडेर निर्माण गरिएको ट्याटु ट्रक अफ नेपाल वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ट्रकमा गरिने आर्टलाई पनि ग्राफिक आर्ट र क्यालिग्राफी आर्ट अन्तर्गत राखेर हेरिनुपर्ने बताउनुभयो । हार्तम्छालीले ट्रक कला र साहित्यलाई एउटै दृष्टिकोणबाट हेरेर मूल्याङ्कन गर्न नहुनेमा जोड दिनुभयो ।

वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले प्रतिष्ठानले यस कला क्षेत्रलाई समेटेर पहिलो पटक कार्यक्रम गरेको बताउनुभयो । उहाँले यस कलाको पनि  पृथक् स्थान रहेको धारणा राख्नुभयो ।

फोटोग्राफर सुदर्शन कार्कीले यस कलालाई निरन्तरता दिने कलाकारहरू अहिले निकै कम भएको बताउँदै कलाको यस क्षेत्रलाई समेटेर कार्यक्रम गरेकामा प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । कार्यक्रममा वक्ताले मुख्यतः ट्रक आर्टले समेटेको धार्मिक, आध्यात्मिक, देशभक्ति, सांस्कृतिक, मायाप्रेम, बिछोडलगायतका विषय समेटिएका साहित्यलाई सङ्कुचित नबनाई परिष्कृत एवं समाजोपयोगी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

समारोहमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ परिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, दिनेश्वर महतो, सञ्जय बान्तवा राई, अरुणा हिङमाङलगायतको सहभागिता रहेको थियो ।