• ८ पुस २०८१, सोमबार

भीमदत्तमा खस्यो २ हजार ४०६ मत

blog

कञ्चनपुरको भिमदत्त नगरपालिका –६ मा भइरहेको उपनिर्वाचनमा मतदानपछि मतदाता । तस्विरः लक्ष्मणदत्त पन्त

लक्ष्मणदत्त पन्त

महेन्द्रनगर, मंसिर १६ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा भइरहेको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म २ हजार ४ सय ६ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभयो । 

५ हजार ४ सय ३४ कुल मतदाता रहेको उक्त वडामा मतदाताहरू उत्साहका साथ मतदानमा उत्रिएका छन् । अध्यक्ष महेन्द्र खड्का २०८० पुस २६ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि वडाध्यक्ष पद रिक्त छ । अध्यक्षका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएका छन् ।  नेपाली कांग्रेसका प्रकाश चन्द, नेकपा (एमाले) का बहादुर चन्द, नेकपा (माओवादी केन्द्र) का नानाराम कोली, नेकपा (एकीकृत समाजवादी) का जितेन्द्रबहादुर चन्द र राप्रपाका सुशिलकुमार भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, राप्रपा नेपालका दिलबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, जनमत पार्टीका यादवबहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, स्वतन्त्र युवराज चन्द र थानेश्वर लेखक प्रतिस्पर्धामा हुनुहुन्छ । 

२०७९ को स्थानीय तह चुनावमा भीमदत्त नगरपालिका –६ को वडाध्यक्षमा नेपाली कांग्रेस प्यानल नै विजयी भएको थियो । २०७९ को चुनावमा कांग्रेसले वडाध्यक्षमा १ हजार १ सय २ मत ल्याएको थियो । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का जनकराज अवस्थीले ६ सय ९८ मत ल्याउनुभएको थियो । राप्रपाका सुशीलकुमार भट्टले ४ सय ८७  र नेकपा एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्द २ सय ३२ मत ल्याउनुभएको थियो ।