• ८ पुस २०८१, सोमबार

हेटौँडामा ५० प्रतिशतभन्दा बढी मत खस्यो

blog

विष्णुज्योति आधारभूत विद्यालय भोर्लेस्थित मतदान केन्द्रमा मतदान गर्दै एक महिला । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, मङ्सिर १६ गते । 
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा हालसम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छन् ।

हेटौँडा वडा नं. १२ मा रहेको दुई वटा मतदानस्थलका मतदान केन्द्रहरूमा गरी आठ हजार ५३ मतदाता रहेकोमा ४२ सय ५६ जना मतदाताले मतदान गरेका हुन् ।

प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले ४४ सय २८ मतदाता रहेको प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा रहेको मतदान स्थलका मतदान केन्द्रहरूमा २३ सय ७९ जना मतदाताले मतदान गरेको जानकारी दिनुभयो ।

यस्तै, ३६ सय २५ मतदाता रहेको विष्णुज्योति आधारभूत विद्यालय भोर्लेस्थित मतदान केन्द्रहरूमा १८ सय ७७ मत खसेको छ ।उहाँका अनुसार बिहान ७ बजेबाट सुरुभएको मतदान कार्य वडाका सबै मतदान केन्द्रहरूका मतदान कार्य शान्तिपूर्ण रूपमा चलिरहेको छ ।

वडा नं. १२ को प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन् ।

वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।