गोलबजार (सिराहा), मङ्सिर १६ गते । सिराहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।
नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमानजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते हुनुभएको थियो ।
घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव बडहरी बेस क्याम्पमा कार्यरत हुनुहुन्थ्यो ।
जिल्ला प्रहरी सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी ७ नम्बर गण सिराहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्काेरपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाउनुभयो । उहाँले अहिलेसम्म स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाउनुभयो । रासस