सहदेव बस्नेत
जाजरकोट, मङ्सिर १६ गते । उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे –७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे –७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले कुशे गाउँपालिकाको २ वटा र नलगाड नगरपालिकाको २४ वटा मतदान केन्द्रमा मतदान भइरहेको जानकारी दिनुभयो । मतदान उत्साहपूर्वक रुपमा भइरहेको प्रजिअ मग्रातीले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले १२ बजेसम्म नलगाड नगरपालिकामा ३ हजार पाँचसय ५६ र कुशे ७ को वडा अध्यक्षका लागि ४ सय २८ मत खसेको जानकारी गराएको छ ।
आजको मतदानका लागि कुशे ७ को वडा अध्यक्षका लागि १ हजार ३ सय २ र नलगाड नगरपालिकामा १६ हजार ४ सय ४९ गरी कुल १७ हजार ७ सय ५१ मतदाता छन् ।