विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर १६ गते । झापाको दमक नगरपालिका –४ ले नसर्ने रोग रोकथाम तथा व्यवस्थापनका लागि एक महिना लामो केएचडीसी स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । शहरी स्वास्थ्य केन्द्रमार्फत रगत र पिसाब जाँच गरेर मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको पहिचान सुरु गरिएको हो ।
पिसाबको प्रोटिन, उच्च रक्तचाप, क्रिएटिनिन, कोलस्टेरोल, मधुमेह र मिर्गौलाको रक्त शुद्धीकरण दर वडावासीले निःशुल्क रुपमा परीक्षण गर्न पाउनेछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ विशेषज्ञ चिकित्सक प्राडा. सञ्जीवकुमार शर्माको अगुवाइमा पूर्वमा केएचडीसी कार्यक्रम हुँदैआएको छ ।
दमक –४ का वडाध्यक्ष पुण्यप्रसाद दहालका अनुसार लगातार एक महिनासम्म वडावासीका लागि जाँच र परामर्शको व्यवस्था मिलाइएको छ । नसर्ने रोग न्यूनीकरण र व्यवस्थापनका लागि आफूहरुले यो कार्यक्रम सुरु गरेको उहाँले जनाउनुभयो । शहरी स्वास्थ्य केन्द्रमा नै आधुनिक ल्याब भएकाले जाँचमा समस्या नभएको उहाँको भनाइ छ ।
दमक नगरपालिकाका अनुसार वर्षमा कम्तीमा एक पटक नगरका सबै वडामा यो कार्यक्रम तथा शिविर गर्ने योजना छ । वडाले आफ्नो बजेटबाट नियमित कार्यक्रम सञ्चालन गर्न पनि सक्छन् । नगर प्रमुख रामकुमार थापाका अनुसार केएचडीसी कार्यक्रमले दमकमा धेरैलाई अकालमा हुने मृत्युबाट बचाउने अपेक्षा गरिएको छ ।