विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा झापामा चिनियाँ लगानीमा बन्ने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ (चीन–नेपालमैत्री औद्योगिक पार्क) को विषय पनि समावेश हुने अपेक्षा स्थानीयले गरेका छन् । दक्षिण एसियाकै ठुलो र नमुनाको भनिएको पार्क करिब चार वर्षअघि शिलान्यास गरिए पनि देखिने गरी भौतिक काम केही भएको छैन ।
‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ का अध्यक्ष गोविन्द थापाका अनुसार भौतिक कामबाहेकका अन्य काम पूरा भएका छन् । ठुलो योजना भएको र विभिन्न कानुनी अड्चनले गर्दा अपेक्षाकृत रूपमा काम हुन नसकेको उहाँको भनाइ छ । विस्तृत विवरण अर्थात् डिपिआर बनाउने कामदेखि लिएर जग्गाको व्यवस्थापन गर्न धेरै समय लागेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला यो विषयको उठान होस् भन्ने अपेक्षा हुनु स्वाभाविक भएको अध्यक्ष थापाले बताउनुभयो । “प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो विषयमा छलफल भई नै रहेको छ,” उहाँले भन्नुभयो, “पार्कको विषय उठ्नु पर्छ भन्दा पनि बन्नु पर्छ भन्नेमा स्थानीय मात्र नभएर प्रधानमन्त्री ओली स्वयम् पनि लागिपर्नुभएकाले पार्क बन्नेमा विश्वस्थ छौँ ।”
नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार भ्रमणमा पार्कको विषयमा ठोस निर्णय आउनु पर्छ भनेर स्थानीयले माग गरेको र यो विषय निष्कर्षमा पुग्ने विश्वास लिइएको बताउनुभयो । स्थानीय पार्टी कमिटीबाट समेत यस विषय उठानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको उहाँले जनाउनुभयो ।
स्वयम् प्रधानमन्त्रीले ‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ को शिलान्यास गर्नुभएको र उहाँको निर्वाचन क्षेत्रको सबैभन्दा ठुलो योजना भएकाले पनि यसमा उहाँको पर्याप्त ध्यान जाने स्थानीयको अपेक्षा छ । दमक वडा नम्बर १० का नगेन्द्रमणि न्यौपानेका अनुसार चुनावी नारा मात्र हो कि भनेर कुरा उठिरहेको छ । “सुरुवातदेखि नै चीन सरकारको सहयोगमा बन्ने भनिएकाले अब प्रधानमन्त्री ओलीको चीन भ्रमणमा यसले निकास पाउँछ भन्ने लागेको छ,” उहाँले भन्नुभयो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले पार्क निर्माणको कामलाई अनिर्णयको बन्दी नबनाए हुन्थ्यो भन्ने लागेको बताउनुभयो । दमकको मात्र नभएर पूर्वी क्षेत्रको समृद्धिको सपना भनिएको योजना वर्षौंदेखि अलपत्र परेकाले अब जसरी पनि टुङ्गो लागोस् र प्रधानमन्त्री ओलीको भ्रमण क्रममा छलफलको कार्यसूचीमा रहोस् भन्ने स्थानीयको माग रहेको उहाँले बताउनुभयो ।
सार्वजनिक–निजी साझेदारी अन्तर्गत जग्गा बहाल पूर्वाधार निर्माण सञ्चालन तथा हस्तान्तरण अवधारणामा नेपाल लगानी बोर्डको २०७६ साउन १७ गते बसेको बैठकले निर्णय गरेपछि स्थानीयले पार्क बन्ने भयो भनेर खुसी व्यक्त गरेका थिए तर पार्कको काम अगाडि बढ्नै सकेन ।
पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ–पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेडको ६४ अर्ब ४१ करोड चिनियाँ लगानी रहने गरी पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने गरी अध्ययन गर्न अनुमति प्रदान गरे पनि यसको विस्तृत विवरणसमेत सार्वजनिक भएको छैन ।
बिआरआई अन्तर्राष्ट्रिय सम्मेलनपश्चात् २०७४ पुस १० देखि १४ गतेसम्म चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपाल भ्रमणसहित औद्योगिक पार्क निर्माणस्थलको अवलोकन गरेको थियो । चीनको ‘बेल्ट एन्ड रोड’ परियोजना अन्तर्गत नेपालमा यो पहिलो विकास निर्माणको योजनाका रूपमा बन्न लागेको त्यो समयमा बताइएको थियो ।
झापाको कमल गाउँपालिकासहित दमक र गौरादह नगरपालिकाको सीमा क्षेत्रमा खोला उकास जमिन अर्थात् रतुवाखोलाको किनारमा पार्कको शिलान्यास चार वर्षअघि प्रधानमन्त्री ओलीले नै गर्नुभएको थियो । उहाँले कम्तीमा यस पार्कमा एक लाख जनाले रोजगारी पाउने र नयाँ युगको सुरुवात हुने घोषणा गर्नुभएको थियो ।
२२ सय बिघा क्षेत्रफलमा पार्क रहने र प्रारम्भिक चरणमा १२ सय बिघाबाट काम सुरु गरिने तयारी थियो । लगानी बोर्डको वेबसाइटमा उल्लेख भए अनुसार काम सुरु भएको तीन वर्षभित्र पहिलो चरणको काम सकिने उल्लेख छ । एक हजार ४२२ हेक्टरमा बन्ने पार्कमा ४९१ वटा प्लट निर्माण हुने छन् । परियोजनाको अवधि ३० वर्षको रहने बताइएको छ ।