• ९ पुस २०८१, मङ्गलबार

नयाँबजारमा बाला चतुर्दशी मेला

blog

सन्त बालागुरुको सम्झनामा बालागुुरुको प्रतिमामा माल्यार्पण गर्दै माइजोगमाई गाउँपालिका अध्यक्ष कुुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई र अन्य भक्तजन । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, मंङ्सिर १५ गते । इलामको माइजोगमाईस्थित नयाँ बजारमा आज बाला चतुर्दशीको मेला लागेको छ । नयाँबजारमा रहेको शिवालयमा आज बिहानदेखि शतबीज छर्ने र पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । 

बालाचतुर्दशीको अवसरमा आज माइजोगमाई–५ मा रहेको धार्मिकस्थल मलुपोखरीबाट जल लगेर नयाँ बजारको शिवालयमा चढाइएको छ । यो अवसरमा जिल्लाको उत्तरपूर्वी क्षेत्रमा धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला व्यवस्थापन समितिका सचिव महेश सापकोटाले बताउनुभयो ।  

जिल्लाका बजारमध्ये नयाँ बजारका रूपमा सन्त बालागुरुले वि.सं २०११ सालमा बजार बसालेको इतिहास छ । अहिले नयाँबजारमा बालागुरुको स्मारक, शिवालयको स्थापना, गणेश भगवानको प्रतिमा र किरात राजा यलम्बरको स्मारक समेत स्थापना गरिएको छ । बालागुरुले २००७ सालमा जोगमाइ खोलामा फलामको पक्की पुल निर्माण गरेर २०१३ सालमा नयाँ बजारसम्म भारतीय भूमिबाट जिल्लामै पहिलो पटक ल्यान्डरोभर गाडी ल्याएको इतिहास रहेको स्थानीय शिक्षक केशवराज पौड्यालले बताउनुभयो ।

पौड्यालका अनुसार बालागुरुलाई विकास प्रेमी सन्तका रूपमा स्थानीयले लिने गरेका छन् । बाला चतुर्दशीको अवसरमा लगाइएको मेलाका अवसरमा झापा र फिक्कलबाट गएका साइकलयात्रीहरुले साइकल स्टन्ड प्रदर्शन गरेका छन् । विभिन्न १४ जातजातिका विभिन्न झाँकीहरू प्रदर्शन गरिएको  मेला व्यवस्थापन समिति सचिव सापकोटाले बताउनुभयो । यो अवसरमा फुटबल प्रतियोगिताको समेत आयोजना गरिएको छ ।