आर्यश सुवाल
कक्षाः ५, एभरेस्ट इङ्ग्लिस स्कुल
मिवाछेँ, भक्तपुर
नेपाल संस्कृतिमा धनी छ । जात्रा, पर्व तथा धार्मिक यात्रामा विभिन्न किसिमका बाजा बजाउने गरिन्छ । मुखले फुकेर बजाउने बाजा, कुनै वस्तुले रेटेर बजाउने बाजा र हात वा लट्ठीले हानेर बजाउने बाजा बजाउने चलन छ । यी बाजामध्ये मलाई मनपर्ने ‘धाः’ बाजा हो । यो प्राचीन ताल बाजा हो । यो बाजा ढोलक र नाय्खीँ बाजा जस्तै देखिन्छ । यो काठ र छालाले बनेको हुन्छ । यसको बजाउने भागमा दुवैतिर छालाले मोडिएको हुन्छ र डोरी वा छालाको सहायताले बाँधिएको हुन्छ । यसलाई बजाउँदा दायाँतिर एउटा हातमा छोटो लट्ठीले र बायाँतिर नाङ्गो हत्केलाले हानेर बजाइन्छ । यो बाजा उठेर बजाइन्छ ।
काठमाडौँ उपत्यकामा नेवार (बौद्ध) जातिले मनाउने गुँला पर्वमा यो बाजाको विशेष महìव रहेको हुन्छ । यो पर्व श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गरिन्छ । गुँला पर्व मनाउने बेला बिहान बिहान नेवार जातिको पुरुष र महिलाले धाः लगायत अरू बाजा बजाई नजिकको बहाःबही, चोक चोकमा परिक्रमा गरी पूजा गर्दछन् । गुँला पर्वको मुख्य ताल बाजा धाः भएकाले यसलाई गुँला बाजा पनि भन्ने गरिन्छ । विशेष गरी यो बाजा शाक्य, वज्राचार्य, मानन्धर, तुलाधर जस्ता जातिले बजाउने गर्दछन् ।
धाः एउटा ताल बाजा भएकाले यो बाजा अन्य बाजा (जस्तै– धिमे, खिं, भुस्याः, छुस्याः ताः, ख्वालिमाली आदि) सँगै ताल मिलाउन बजाउने गरिन्छ । धाः बाजामा बोल हुन्छ । धाः बजाउँदा लट्ठीले बजाउने भागलाई ‘घें’ भनिन्छ र नाङ्गो हत्केलाले हानेर बजाउने भागलाई ‘ताः’ भनिन्छ । यसमा म, क, ख, ग, झै, ना, र जस्ता बोल हुन्छ । म, क, ज, र बोल घेंमा बजाउने भएकाले बढी बल प्रयोग गरी बजाइन्छ भने क र ग बोल चाहिँ ताः बजाउने ठाउँमा बजाइने भएकोले थोरै मात्र बल प्रयोग गरी बजाउने गरिन्छ । ख बोल घें बजाउने ठाउँमा थिच्ने गरिन्छ भने झैँ बोल घें र ताः सँगै बजाइन्छ ।
भक्तपुरमा गाईजात्राको दिन घिन्ताङघिसी नाच नचाउने गरिन्छ । यो नाचमा धाः बाजाको ठुलो महत्व हुन्छ । यसको आवाजबाट नाच नाच्ने कलाकार र नाच हेर्न बसेका दर्शकलाई निकै उत्साहित बनाउँछ । मलाई धाः बजाउन धेरै मन लाग्ने भएकोले म र भाइ आयान श्रेष्ठले धाः बाजा बजाउन सिक्दै छौँ । धाः बजाउने समयमा धाःका साथै अरू बाजा पनि सँगै बजाउँदा हामी दुवैलाई धेरै रमाइलो लाग्छ । त्यस कारण पनि धाः बाजा मलाई मनपर्ने बाजा हो ।