• ८ पुस २०८१, सोमबार

असल कसरी बन्ने ?

blog

शम्भवी आचार्य

कक्षा ८, त्रिज्योति मावि

कपन, काठमाडौँ 

साथीहरू, हजुरहरूले पनि जीवनमा कैयौँ पटक असल व्यक्ति बन्न कोसिस गर्नुभएकै होला । हैन त ? हजुरहरूलाई थाहा छ असल व्यक्ति बन्न कस्तो गुण आवश्यक छ ? म हजुरहरूलाई यस्ता गुणका बारेमा भन्छु, है त ?

अनुशासन

शासन शब्दमा अनु उपसर्ग लागेर बनेको यो शब्द जीवनमा अत्यावश्यक कला हो । अनुशासनबिनाको मानिस असल कदापि बन्न सक्दैन । जीवनमा सफलता हासिल गर्नका लागि अनुशासन अति महत्वपूर्ण छ । अनुशासन घर र विद्यालयबाट सिक्न पाइन्छ । विद्यालयमा हामी निकै अनुशासित भएर बस्नु पर्छ । अनुशासनहीन अर्थात् अनुशासनमा नबस्ने व्यक्तिलाई कसैले पनि मन पराउँदैन । अनुशासन मानिसको गहना हो । मानिसको बाहिरी रूप जतिसुकै राम्रो भए पनि अनुशासनको गहना भएन भने भित्रदेखि सुन्दर हुनै सक्दैन ।

धीरता

धीरता यस्तो कला हो जसमा व्यक्तिले संयमित रही र हतार नगरी आफ्नो काम गर्न सक्छ । हतार गरेर काम गर्दा सोचविचार गर्न भ्याइँदैन । यसले गर्दा अनेक गलत काम हुन सक्छ । तसर्थ जीवनमा सफलता प्राप्त गर्नका लागि धीरता व्यक्तिको आवश्यक गुण हो । परीक्षामा पनि निकै धीरताका साथ लेख्नु पर्छ । कक्षाकोठामा बस्दा पनि यो गुण चाहिन्छ । 

सोचविचार

जीवनका हरेक पाइला राम्ररी विचार गेरर मात्रै चाल्ने गर्नु पर्छ । आफूले चालेका पाइलाले कसैको पनि हानि नहोस् भन्ने कुरा सधैँ ख्याल गर्नु पर्छ । बोल्दा पनि विचार पुर्‍याएर बोल्नु पर्छ । धेरै गलत बोल्नुभन्दा कम तर सोच विचार पुर्‍याएर बोल्दा जीवनमा सफलता पाइन्छ । जे पायो त्यही बोल्ने मानिसलाई कसैले पनि रुचाउँदैनन् । सोचेर तौलिएर बोल्ने गर्नु पर्छ । प्याच्च बोल्ने, अरूलाई चित्त दुःखाउने गरी बोल्ने, लामो बोल्ने, अनावश्यक बोल्ने, प्रसङ्गबेगर बोल्ने मानिस सबैको प्रिय हुन सक्दैन ।

लक्ष्य निर्धारण

जीवनमा गन्तव्यबिनाको यात्री कहिल्यै बन्नु हुँदैन । जीवनमा लक्ष्य निर्धारण गरेर मात्रै अघि बढ्नु पर्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि सधैँ मेहनत गर्नु पर्छ । भोलि मेरो लक्ष्य यो हुने छ भनेर अगाडि बढ्न सके जीवनमा सफलता प्राप्त हुन सक्छ । लक्ष्यबेगर अगाडि बढ्ने मानिसको जीवन कता पुग्छ । भविष्यमा चिकित्सक, इन्जिनियर, अधिवक्ता, शिक्षक, कर्मचारी वा व्यापारी के बन्ने भन्ने लक्ष्य विद्यार्थी जीवनमै लिन सक्नु पर्छ ।

समयतालिका

समयतालिकाबिनाको काम सन्तोषजनक हुँदैन, पूरा पनि हुँदैन । हामीले हरेक कामका लागि समयतालिका बनाउनु पर्छ । समयतालिका भएन भने हामी कुन काम गर्ने भनी अलमलमा पर्छौं र हाम्रो मेहनतमा कमी आउन थाल्छ । बिहान कति बजे उठ्ने, कति बजे खाने, कति बजे विद्यालय जाने, कति बजे घर फर्किएर खेल्ने, कति बजे गृहकार्य गर्ने र पढ्ने भन्नेबारेमा समयतालिका बनाउनु पर्छ । यसरी बनाइएको तालिकालाई आफ्नो कोठामा झुन्ड्याउने वा टाँस्ने गर्नु पर्छ । त्यही समयतालिका अनुसार दैनिक काम गर्नु पर्छ । 

मुना