काठमाडौँ, मङ्सिर १३ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन पुग्नेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ बिहीबार साँझ चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहर पुग्नुभएको हो। मन्त्री डा. राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सो भेटवार्ता शुक्रबार चीनको छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्रालयले सामाजिक सञ्जाल ट्वीट (एक्स)मा लेखेको छ, "चीनको परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रमा परराष्ट्रमन्त्री डा. आरजु राणा चीनको छेन्दु सहरमा आइपुग्नुभएको छ । शुक्रबार परराष्ट्रमन्त्री राणा दुई पक्षीय छलफलमा सहभागी हुनुहुनेछ ।’’
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा. राणा चीन जानुभएको हो। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ।
डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन जानुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरुले बिदाइ गर्नुभएको थियो।