• २४ पुस २०८१, बुधबार

शिक्षामन्त्री भट्टराई र विकास साझेदारबिच भेट

blog

विकास साझेदारसँग भेट गर्नुहुँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई।

काठमाडौँ, मङ्सिर १२ गते।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग  मन्त्रालयको नेतृत्वमा कार्यान्वयनमा रहेको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनका संयुक्त विकास साझेदारले   शिष्टाचार भेटघाट गरेका छन्।

उक्त अवसरमा मन्त्री भट्टराईले संयुक्त वित्तीय साझेदारका प्रमुख तथा प्रतिनिधिलाई स्वागत गर्दै विकास साझेदारले नेपालको शिक्षा क्षेत्रमा गर्नुभएको सहायताप्रति प्रशंसा गर्नुभयो। अन्य विकास साझेदारको तर्फबाट हाल कार्यान्वयनको क्रममा रहेको विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रको समीक्षा गरी आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने विषयमा नेपाल सरकारसँग संयुक्त रूपमा सहकार्य गर्ने विषयलाई मन्त्री भट्टराईले विशेष जोड दिनुभयो। 

मन्त्री भट्टराईले नेपालको शिक्षा क्षेत्र सुधार गर्न शिक्षकको प्रमुख भूमिका हुने  र शिक्षकको गुणस्तर सुधार आवश्यक रहेकोले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोग जस्ता विषयहरू प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो।

भेटघाटमा नेपालका लागि नर्वेजियन राजदूत टोरुन ड्रमडाले नर्वे सरकारले नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन कार्यान्वयनको केन्द्रबिन्दुको रूपमा रहेको स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको विषय राख्नुभयो। 

विकास साझेदारको तर्फबाट नेपालका लागि  नर्वेजियन राजदूतको नेतृत्वमा, एडीबी, युएस आइडी, युनिसेफ, युरोपियन  युनियन वर्ल्ड बैङ्कका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।