• २४ पुस २०८१, बुधबार

महिलालाई निःशुल्क ‘सेनिटरी प्याड’

blog

फाइल तस्विर

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १२ गते । झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रूपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

यस भन्दाअघि दमक नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई मात्र सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको थियो । यस आर्थिक वर्षदेखि सबै महिलालाई वर्षभरि नै सेनिटरी प्याड उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याइसकेको नगर प्रमुख थापाले बताउनुभयो ।

सहरी स्वास्थ्य केन्द्रबाट जोसुकै महिलाले पनि सहज रूपमा सेनिटरी प्याड पाउने नगरपालिकाले जनाएको छ । यसको कार्यविधि बनाएर व्यवस्थित र सहज बनाउँदै लैजाने पनि थापाले उल्लेख गर्नुभयो । यो विषय महिलाको अधिकार र स्वास्थ्यसँग जोडिएकाले विशेष कार्यक्रमको रूपमा लिइएको उहाँले बताउनुभयो ।

महिनावारी समयमा सुरक्षित स्यानिटरी प्याड उपलब्ध भएन भने शरीरबाट निस्किएको रगतले महिलाको भित्री अङ्ग सङ्क्रामक भएर शरीर विषयुक्त बनाउने भएकाले यो कार्यक्रम ल्याइएको दमक नगर उपप्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो । 

आर्थिक अभाव र पर्याप्त चेतनाको अभावले अहिले पनि सेनिटरी प्याडको प्रयोग नगर्ने महिलाको सङ्ख्या धेरै भएको पाएका छौँ, उहाँले भन्नुभयो । संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक सुनिश्चित गरेकाले त्यसमा स्थानीय सरकारको दायित्व मानेर यो कार्यक्रम अघि सारिएकाले सफल बनाउन सबैलाई लाग्न भट्टराईले आग्रह गर्नुभयो । गुणस्तरीय सेनिटरी प्याड उपलब्ध गराइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।