• २४ पुस २०८१, बुधबार

जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

blog

रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर १२ गते । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता पर्वत बेनी स्थित न्यु होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागिता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा छात्र/छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ १०२ स्वर्णमा खेल प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगितामा विजेता विद्यालयलाई नगद ५० रुपियाँ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद ३० हजार र २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने जनाइएको छ । 

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु आचार्यले  विद्यार्थीहरूमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूमा लगनशीलता, अनुशासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । 

उहाँले गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई हरेक वर्ष फरक फरक विद्यालयमा आयोजना गर्ने र त्यसले एक विद्यालयको शैक्षिक र भौतिक व्यवस्थापनको अर्को विद्यालयहरूले सिकाई गर्न सक्ने समेत बताउनुभयो । उद्घाटनअघि मार्च पास गरिएको थियो भने विद्यार्थी र कर्मचारीहरूको नृत्य समेत प्रस्तुत गरिएको थियो ।