• २४ पुस २०८१, बुधबार

कोरोला–त्रिवेणी मार्ग गण्डकी प्रदेश सरकारको प्राथमिकतामा

blog

मन्त्री प्रकाशबहादुर केसी र भीमाद नगरपालिकाका प्रमुख दधिराज घिमिरे मार्ग निरीक्षणको क्रममा। तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ मङ्सिर १२ गते। गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–पोखरा–त्रिवेणी मार्गको काम  प्राथमिकतामा परेको छ। यस मार्गको काम छिटो पुरा गर्न प्रदेश सरकारले चासो दिएको छ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी नेतृत्वको टोलीले मार्ग निरीक्षण निस्किएको छ। तनहुँको भीमाद, घिरिङ, नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेको छ। 

मङ्गलबार निस्केको टोलीले तनहुँको भीमादबाट घिरिङ हुँदै नवलपुरको रुचाङसम्म पुग्यो। दुई छिमेकी देश चीन र भारत जोड्ने यो सडकको दुम्कीबासदेखि त्रिवेणीसम्मको करिब २३ किलोमिटर क्षेत्रमा निकुञ्ज पर्छ। त्यो ठाउँको समस्या बुझ्न मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी स्थलगत निरीक्षणमा निस्कनु भएको हो। यो टोली बुधबार दुम्कीबासबाट विवादित क्षेत्र हुँदै त्रिवेणीसम्म निरीक्षण गरेको छ।

मन्त्री केसीले तनहुँको भीमाद नगरपालिका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिका प्रमुख होमबहादुर थापा, नवलपुरको बौदिकाली गाउँपालिकाका प्रमुख प्रकाश ओझासहित स्थानीयलाई भेट गर्नुभएको छ । भेटमा पालिका प्रमुखले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पनि काम हुन नसकेका र प्रदेश सरकारले गर्नुपर्ने कामबारे जानकारी गराएका थिए। भीमाद र घिरिङका पालिका प्रमुखले दुई पालिका जोड्ने सडक सात वर्ष पहिल्यै सकिनुपर्ने भएपनि ठेकेदार मुद्दा मामिलामा लागेपछि जनताले सास्ती व्यहोर्नुपरेको सुनाउनुभयो। 

घिरिङका गाउँपालिका अध्यक्ष होमबहादुर थापाले कृष्णमार्ग मोटर मार्गको  समस्या मुख्य भएकाले समाधान गर्नेमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

मन्त्री केसीले पोखरा फर्किएपछि मन्त्रालयको टिम यो सडकको समस्या बुझेर समाधानमा लाग्ने बताउनुभयो। उहाँले पूर्वाधार कार्यालय तनहुँका प्रमुखसँग कृष्णमार्ग मोटरबाटोको समस्याबारे सोधेर आफ्नो ठाउँबाट गर्न सकिने सबै पहल गर्ने प्रतिबद्धता गर्नुभयो। बौदिकाली गाउँपालिका प्रमुख प्रकाश ओझाले डेढगाउँ रिङरोड योजनामा प्राथमिकता साथ बजेट विनियोजन गरिदिन आग्रह गर्नुभयो। उहाँले बसाइसराइले गाउँ नै रित्तिने अवस्था आएको, कर्मचारी बस्न नमान्ने समस्या भोग्नुपरेको सुनाउनुभयो।

जवाफमा मन्त्री केसीले चालु आर्थिक वर्षमा नयाँ बजेट हाल्न सक्ने अवस्था नरहेकाले आगामी वर्ष आवश्यकताका आधारमा माग सम्बोधन गर्ने बताउनुभयो। उहाँले पालिकाको विकासमा मन्त्रालयले गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो। नेपालको त्रिवेणी हुँदै चीनको कोरला जोड्ने गरी निर्माण भइरहेको सडकले दीर्घकालीन महत्त्व राखेकोले गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको मन्त्री केसीको भनाइ थियो। प्रदेशको संरचना निर्माण भएपछि २०७६ सालबाट यो मार्गको निर्माण सुरु भएको थियो। प्रदेश सरकारको २०७६ सालको बजेट विनियोजन भएको भए पनि २०७९ साल वैशाखमा सम्झौता भएर निर्माण सुरु गरिएको थियो।