• २३ पुस २०८१, मङ्गलबार

दाङमा तीन सयभन्दा बढी घरेलु तथा साना उद्योग दर्ता

blog

लिलाधर वली

घोराही, मङ्सिर १२ गते । दाङमा चालु आर्थिक वर्षको चार महिनामा साढे तीन सयभन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१-०८२ को साउनदेखि कात्तिक महिनासम्म जिल्लामा तीन सय ६६ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । 

दर्ता हुनेमा उद्योगतर्फ एक सय ४२ वटा र वाणिज्यतर्फ दुई सय २४ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको छ । सूचना अधिकारी पौडेलका अनुसार कात्तिक महिनामा उद्योगतर्फ २४ वटा र वाणिज्यतर्फ ३७ वटा गरेर ६१ वटा, असोज महिनामा उद्योग २६ वटा र वाणिज्यतर्फ ४२ वटा गरेर ६९ वटा, भदौ महिनामा उद्योगतर्फ ४१ वटा र वाणिज्यतर्फ ५६ वटा गरेर ९७ वटा र साउन महिनामा उद्योगतर्फ ५१ वटा र वाणिज्यतर्फ ८८ वटा गरेर एक सय ३९ वटा व्यावसायिक फर्म दर्ता भएका छन् । 

दर्ता हुनेमा अधिकांश कृषि, होटेल व्यवसायसँग सम्बन्धित उद्योगहरू रहेको कार्यालयका सूचना अधिकारी पौडेलले बताउनुभएको छ । जिल्लामा नयाँ तीन सय बढी व्यवसाय थपिँदा उद्योगतर्फ २० करोड ८० लाख २८ हजार र वाणिज्यतर्फ १९ करोड ४५ लाख ५१ हजार रुपियाँ गरेर कुल ४० करोड २५ लाख ७९ हजार रुपियाँ लगानी थपिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । चार महिनाको अवधिमा उद्योगतर्फ पाँच सय ६४ वटा र वाणिज्यतर्फ सात सय ७७ वटा गरेर एक हजार तीन सय ४१ वटा उद्योग तथा व्यवसाय नवीकरण भएका छन् । 

यसै गरी सोही अवधिमा जिल्लामा दुई सय ६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार बन्द हुनेमा एक सय नौ उद्योग र एक सय ५४ वटा व्यावसायिक फर्म रहेका छन् । कार्यालयका अनुसार कात्तिक महिनामा उद्योग १७ र वाणिज्यतर्फ २५ वटा गरेर जम्मा ४२ वटा, असोज महिनामा उद्योगतर्फ ३० वटा र वाणिज्यतर्फ ३१ गरेर ६१ वटा, भदौ महिनामा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३७ गरेर ६७ वटा र साउन महिनामा उद्योगतर्फ ३२ वटा र वाणिज्यतर्फ ६१ वटा गरेर ९३ वटा घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । सूचना अधिकारी पौडेलका अनुसार जिल्लामा बन्द हुनेमा धेरै वाणिज्यतर्फका व्यवसाय छन् । 

नयाँ दर्ता हुने उद्योग तथा व्यवसायहरूको सङ्ख्या बढे पनि बन्द हुने उद्योग व्यवसायको अवस्था पनि उस्तै रहेको भन्दै सूचना अधिकारी पौडेलले भन्नुभयो,‘आर्थिक मन्दीसँगै विदेश जानलाई र व्यवसाय चलाउन नसक्ने अवस्था देखाउँदै उद्योग बन्द गर्नेको सङ्ख्या धेरै रहेको छ ।’ उहाँका अनुसार बन्द हुनेमा अधिकांश व्यवसाय ऋण खानका लागि खोलिएका हुने गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् ।