• २४ पुस २०८१, बुधबार

पूर्व सभामुख र उपसभामुखको स्मरणमा दमन

‘संसद् प्रतिपक्षीको हो भन्ने मानक स्थापित गर्नुभयो’

blog

काठमाडौं, मङ्सिर १२ गते । पूर्व सभामुख स्वर्गीय दमननाथ ढुङ्गानाले भौतिक संसार छोड्नुभएको आज १२ औं दिन पुगेको छ । सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको मान्यता व्यवहारमा स्थापित गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । 

लोकतान्त्रिक मूल्यमान्यता, संसदीय अभ्यास, नेपालको शान्तिप्रक्रिया तथा मानव अधिकारका क्षेत्रमा ढुङ्गानाले पुर्‍याउनुभएको योगदान अविस्मरणीय रहेको नेताहरुले बताएका छ । 

ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । उहाँले २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभयो ।

वैचारिक एवम् आत्मीय व्यक्तित्व 

पूर्व सभामुख तारानाथ रानाभाट ढुङ्गानालाई देश र प्रजातन्त्रका लागि उच्चकोटीको विचार राख्नुहुने व्यक्तित्वको रुपमा सम्झनुहुन्छ । “पञ्चायतकालदेखि नै हामी सँगसँगै पढेको हुर्केको,  विद्यार्थी अवस्थादेखि सँगसँगै प्रजातान्त्रिक आन्दोलनमा लागेको, नेपाली कांग्रेसको राजनीति गर्दागर्दै नेतृत्व तहमा सँगसँगै पुगेको छ । 

संसदमा उहाँ पनि सभामुख हुनुभयो, म पनि सभामुख भएँ” उहाँले भन्नुभयो, “त्यस्तो अभिन्न मित्र, अत्यन्तै आत्मीय, दाइ भन्थे उहाँलाई । उहाँकी श्रीमती पनि त्यत्तिकै योग्य राजनीति गर्ने मान्छे हो । अत्यन्तै उच्चकोटीको सोच राख्ने मुलुकका लागि, प्रजातन्त्रका लागि । अत्यन्तै आत्मीयता भएको मान्छे हुनुहुन्थ्यो म त्यसरी सम्झिन्छु । हामीलाई त ठूलो घाटा भएको छ नि ।”

संसदमा जनभावनासँग मिल्दो, समय र परिस्थितिले माग गरेको तथा राजनीतिक, सामाजिक, वैदेशिक जुनसुकै अवस्थामा सम्बोधन गर्नसक्ने, सहज बाटो देखाउन सक्ने, प्रजातान्त्रिक व्यवस्थाका निम्ति खटेर काम गर्ने नेताका रुपमा ढुङ्गानालाई बुझ्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “साथीहरु, चिन्तकहरुसँग छलफल गर्न शरम नमान्ने । तल बसेर छलफल गर्दा सानो हुन्छु भन्छन् नि अचेलका नेताहरु, त्यस्तो नगर्ने साथी हो दमन । पछिल्लो समय उहाँ पार्टीबाट अलग हुनुको कारण के होला भन्ने जिज्ञासामा मिडियाले यस किसिमको दृष्टिकोणले हेरे पनि मुलुकका लागि समर्पित भइसकेको उहाँको मन पार्टीबाट कहिल्यै टाढा नभएको भनाइ उहाँले राख्नुभयो । 

उहाँले भन्नुभयो, “एउटा बुढो भइसकेको नेता हिंड्न, डुल्न, पैदल हिंड्ने ठाउँमा टाढा पुग्न सक्दैन । तर साथीभाइ आउँदा आफ्नो अनुभवले, अध्ययनले मुलुकका निम्ति चाहिने अवस्था के हो ? के भइरहेको छ भन्ने कुरामा राम्रो विश्लेषण दिएर बाटो देखाइदिन सक्छ । त्यस्तै एउटा साथी हामीले गुमायौं ।”

शान्तिप्रक्रियामा महत्वपूर्ण भूमिका

यसैगरी, पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी उहाँ एक राजनीतिज्ञ हुँदाहुँदै पनि मानव परोपकार एवम् हितका लागि गहन विचार भएको अध्येता व्यक्तित्वको रुपमा रहनुभएको सम्झनुहुन्छ । 

“मैले प्रत्यक्ष उहाँ सभामुख र म सांसद भएर सहकार्य त भएन तर पनि उहाँको विचारहरु, छलफलहरु, अन्तरक्रिया, लेखहरु सबै हेर्दाखेरी उहाँ एक संसद्कै अभिभावक हो” उहाँले भन्नुभयो, “उहाँको मुख्य विचार भनेको सत्ता सरकारको हो । संसद् चाहिँ प्रतिपक्षको हो भन्ने भाष्य निर्माण गर्नुभयो । वास्तवमा त्यो सही, वास्तविकता हो । त्यो वास्तविकतालाई उहाँले व्यवहारमा उतार्नुभयो ।”

उहाँले माओवादी द्वन्द्वलाई शान्तिप्रक्रियामा ल्याउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी भूमिगत हुँदाखेरी जुन द्वन्द्व भयो, युद्ध, जनयुद्ध भयो । त्यो विषयमा पनि चिन्तित भएर उहाँले गिरीजाप्रसाद कोइरालाकै निर्देशन, सहयोग भएर नै होला उहाँले त्यो शान्तिप्रक्रियामा ल्याउन त्यो रुपमा स्थापित गर्न उहाँको ठूलो महत्वपूर्ण भूमिका पनि रह्यो ।”

उहाँ ढुङ्गानालाई भद्र एवम् धैर्य भएको नेताका रुपमा बुझ्नुपर्ने बताउनुहुन्छ । सुवेदीले भन्नुभयो, “उहाँको भद्रता, धैर्य, तर्कहरु, छलफलहरु असाध्यै भावनामा छुने । कसैको भावानामा चोट नपुग्ने तरिकाले बहसहरु हुन्थ्यो । उहाँ असाध्यै राष्ट्रका निम्ति आवश्यक मान्छे । सादा जीवन उच्च विचार लिएको मान्छेको रुपमा बुझ्छुु मैले । उहाँप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना छ ।”

सत्तापक्ष र प्रतिपक्षबिचको अन्तरसम्बन्ध स्थापित गर्नुभयो 

यस्तै पूर्व उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले संसदीय अभ्यासमा संसदभित्र गर्नुपर्ने कामहरुको सन्दर्भमा धेरै सम्झिरहने व्यक्तिमध्ये दमननाथ ढुङ्गाना पर्नुहुने बताउनुभयो । संसदभित्र सत्तापक्ष र प्रमुख प्रतिपक्षबिचको अन्तरसम्बन्ध, दुई पक्षबिच गर्नुपर्ने कामहरु, मान्यतालाई उहाँले स्थापित गर्नुभएको तुम्वाहाङ्फेको भनाइ छ ।

उहाँले भन्नुभयो, “संसदसँग जोडेर हेर्दाखेरी ऐतिहासिक, बिर्सनै नसकिने, नमिल्ने व्यक्तिको रुपमा म उहाँलाई सम्झन्छु । अर्को कुरा पोलिटिकल्ली आफ्नो–आफ्नो पार्टीमा जो जहाँ हुनुहुन्छ, त्यो अवस्थामा उहाँले गरेका योगदानहरु हामीले सम्झिरहन सक्छौं । मैले पनि यसरी सम्झिने गर्छु ।

तत्कालीन अवस्थामा सशस्त्र द्वन्द्व व्यवस्थापन एवम् शान्तिप्रक्रिया अगाडि बढाउने क्रममा ढुङ्गानाले महत्वपूर्ण भूमिका खेल्नुभएको उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, “कसरी युद्धरत पक्ष र सरकारको बिचको अन्तरसम्बन्धलाई स्थापित गर्ने ? दुई पक्षको बिचमा कुराकानी गराउने भन्ने विषयमा उहाँको महत्वपूर्ण भूमिका थियो ।"

हामीले ऐन, कानुन बनाएर, परिमार्जन गरेर पीडित पक्षको मागअनुसार कसरी अगाडि जान सकिन्छ भन्ने कुरालाई एउटा पृष्ठभूमिमा महत्वपूर्ण भूमिका खेलेको कारणले, त्यसलाई अन्त्मि निष्कर्षमा पुर्‍याउनका लागि अहिले हामीले काम गरिरहेको अवस्थाको सन्दर्भमा पनि उहाँलाई सम्झिन्छौं र म पनि सम्झिन्छु ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।