बोमलाल गिरी
नवलपुर, मङ्सिर ११ गते। नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको मूल गेटमा स्थानीयले लगाएको ताला खुलेको छ।
विगत एक हप्तादेखि विभिन्न माग सहित सङ्घर्ष समिति बनाएर आन्दोलन गरिरहेका स्थानीय र उद्योगको व्यवस्थापन पक्षबिच सहमति भएपछि आन्दोलन स्थगितसँगै उद्योग ग्रामको मूल गेटमा लगाइएको ताला खुलेको हो।
मंगलबार ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगन गरिएको वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो। उद्योग ग्राम भित्र भुसबाट चल्ने भुसे ब्वायलरलाई प्रदूषण नियन्त्रणको मापदण्ड भित्र राखेर सञ्चालन गर्नुपर्ने र ब्वायलर बिग्रेको अवस्थामा प्रदूषण फैलन नदिन तत्काल नयाँ ब्वायलर जडान गर्नुपर्ने, इटिपी देखि पक्की नाला बनेको ठाउँसम्म पानीलाई पाइप राखी बगाउनुपर्ने काम तत्काल सुरु गर्ने सहमति भएको छ।
त्यस्तै इटिपि प्लाको क्षमता वृद्धि गरेर १५०० केएलडीको बनाउने, सीएसआरको रकम विधिले व्यवस्था गरेको आधारमा प्रभावित क्षेत्रको संयुक्त टोल विकास संस्थाको निर्णयबाट वडाको सिफारिसमा योजना कार्यान्वयन गरिने र मासिक रूपमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला वनको प्रतिनिधि, पर्यटन तथा उद्योग कार्यालयको प्रतिनिधि, देवचुली–२ का प्रतिनिधि, वातावरण प्रभावित क्षेत्रको प्रतिनिधि र संयुक्त टोल विकास संस्थाको प्रतिनिधि सहितको टोलीले अनुगमन गर्ने सहमति भएको सङ्घर्ष समितिका संयोजक शर्माले बताउनुभयो।
जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारी सहितको रोहवरमा भएको सहमतिमा स्थानीयको तर्फबाट सङ्घर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्मा र चौधरी ग्रुपका तर्फबाट वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौलाले हस्ताक्षर गर्नुभएको छ।
भुसे ब्वायलर तुरुन्तै रोकेर मर्मत गर्नुपर्ने, पुरानो ब्वायलर भत्काएर हटाउनुपर्ने, वैकल्पिक नयाँ ब्वायलर बनाउनु पर्ने, वस्तिको नजिक प्लास्टिक पोल्न बन्द गर्नुपर्ने, इटिपी ठुलो क्षमताको बनाउनुपर्ने, ठुलो क्षमताको प्लान्ट नबन्दासम्म फोहोर पानी सिजीआइपीको जङ्गलमा ठुलो खाडल खनेर थेग्य्राउनु पर्ने, खरानीका कारण प्रदूषण पीडित र प्रदूषित पानीको प्रदूषणका कारण पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसहित विगत एक सातादेखि स्थानीय आन्दोलित भएका थिए।